विद्यालय खुलेसँगै विद्यार्थी उत्साही

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुलेका छन् । सुर्खेतका विद्यालयहरूमा भौतिक उपस्थितिमै पठनपाठन सुरू भएको हो । विद्यालयहरूले जन स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएका छन् । यसअघि अनलाइन लगायतका वैकल्पिक माध्यमबाट घरमै बसेर पढिरहेका विद्यार्थी विद्यालय जान पाउँदा खुसी भएका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले तयार पारेको मापदण्ड पालना गरेर सम्बन्धित स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा गठित कार्यदलकोे बैठकले विद्यालय सञ्चालनका लागि प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनका आधारमा सर्तसहित विद्यालय सञ्चालनमा ल्याइएको हो । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अहिले आलोपालो गरेर सीमित विद्यार्थीको उपस्थितिमा पठनपाठन थालेको छ । शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेले जिल्लाका सबैजसो विद्यालयहरूले भौतिक उपस्थितिमै पठनपाठन गराउन थालेको बताए । उनका अनुसार कक्षा कोठामा सीमित विद्यार्थी राखेर जन स्वास्थ्यका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका हुन् ।

विद्यार्थी संख्या र भौतिक संरचनाका आधारमा विद्यालयहरूले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोलेका छन् । असोज १ गतेदेखि अझै व्यवस्थित रूपमा विद्यालय सञ्चालनको तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । अहिले विद्यालयहरूले तोकिएको मापदण्ड अनुसार पठनपाठन गरे/नगरेको सम्बन्धित पालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा गठित समितिले अनुगमन गर्ने छ ।

वीरेन्द्रनगर–११ धुलियाविटमा रहेको शिव माध्यमिक विद्यालयले जन स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको जनाएको छ । उक्त विद्यालयले चार सिफ्टमा पठनपाठन सुरू गरेको हो । एउटा कोठामा २० देखि ३० जना राखेर पढाइ थालिएको छ । एउटा सिफ्टमा आउने विद्यार्थीहरूलाई तीन घण्टा पढाउने गरिएको विद्यालयले जनाएको छ । त्यस्तै, बराहताल गाउँपालिकास्थित भेरी माध्यमिक विद्यालय रानीघाटले पनि स्वास्थ्य मापदण्ड अपनाएर अध्यापन सुरू गरेको छ । विद्यालयका प्रधानाध्यापक रत्न बुढाले विद्यार्थीहरूको उपस्थिति उत्साहजक रहेको बताए । भेरी माविले अनिवार्य मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने र एउटा बेन्चमा दुई जना विद्यार्थी राखेर पठनपाठन सञ्चालन गरेको छ ।

प्रकाशित मितिः   २९ भाद्र २०७८, मंगलवार ०५:००