कर्णालीका तीन सांसद समाजवादीमा
कर्णाली प्रदेशसभाका तीन जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । यसअघि नेकपा (एमाले) रहेका सांसदहरूले पार्टी विभाजन भएसँगै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरूले बुधवार सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेको निमित्त प्रदेश निर्वाचन अधिकारी निर्मला रेग्मीले बताइन् । उनकाअनुसार मुगुका सांसद चन्द्रबहादुर शाही, जुम्लाका सांसद पदमबहादुर रोकाया र रुकुम–पश्चिमकी सांसद देवी ओलीले सनाखत गरेका हुन् ।
तीन जना सांसद एकीकृत समाजवादीमा लागेपछि एमालेको कर्णाली प्रदेशसभा सदस्य संख्या १३ मा झरेको छ । सुरूमा सभामुखसहित २० सांसद रहेको एमालेले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाही गरी पदमुक्त गरिसकेको छ । यी चार जनाले पार्टी निर्देशनविपरीत गत वैशाख ३ गते फ्लोर क्रस गरेर माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । जसमध्ये तीन जना मन्त्री छन् ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेशले नयाँ दल गठन भएको २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था गरेको छ । विभाजित भएको पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कुन दलमा बस्ने भन्नेबारे छान्न पाउने गरिएको हो । प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकारी समक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन अधिकारी समक्ष स्वयम् उपस्थित भइ रोजेको पार्टीका पक्षमा सनाखत गर्नुपर्ने हुन्छ । नियमावली अनुसार सनाखत गरिएको विवरण सम्बन्धित निर्वाचन कार्यालयले सात दिनभित्र आयोगमा पठाइसक्नुपर्ने व्यवस्था छ । एमाले आधिकारिक रूपमै विभाजन भएपछि यही भदौ ९ गते माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।
प्रकाशित मितिः १७ भाद्र २०७८, बिहीबार ०५:००
साझा बिसौनी ।