विमानस्थल विस्तारमा अझै अन्योल

सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नतिको काम अझै सुरू हुन सकेको छैन । धावनमार्ग विस्तारमा अन्योल कायमै रहेको हो । विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाले असहमति जनाएपछि झन्डै एक वर्षदेखि चर्चामा रहेको विमानस्थल विस्तारको कामले गति लिन सकेको छैन । ठूलो बस्ती तथा भौतिक संरचना मासेर विमानस्थल विस्तार गर्नुभन्दा अन्यत्रै विकल्प खोज्नुपर्ने स्थानीयको माग छ । प्रक्रिया अघि बढिसकेको अवस्थामा पनि स्थानीयको असन्तुष्टिका कारण काम बिचमै रोकिएको हो ।

विमानस्थलको धावनमार्ग साँघुरो भएका कारण ठूला जहाज सञ्चालन हुन सकेका छैनन् । यही समस्या समाधानका लागि धावनमार्ग विस्तारको प्रक्रिया थालिएको थियो । तर, हालसम्म विमानस्थल स्तरोन्नति गर्ने/नगर्नेबारे भने टुङ्गो लाग्न सकेको छैन । धावनमार्ग विस्तारको काम अनिश्चित बनेको हो ।

संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र संयुक्त लगानीमा विमानस्थल विस्तार गर्ने भनिएको थियो । एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग बनाउने र रात्रीकालीन उडान गर्ने गरी विस्तार गर्ने भने पनि लामो समयसम्म यसको टुङ्गो लागेको छैन । गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त योजनाका लागि ५० करोड बजेट विनियोजन गरेको थियो । काम अघि नबढ्दा सो बजेट फ्रिज गएको छ । विमानस्थलको उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाइ विस्तार गर्ने योजना थियो । त्यसका लागि ३० बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने भए पनि जग्गा अधिग्रहणमा समस्या भएपछि स्तरोन्नतिका कामहरू रोकिएका हुन ।

विमानस्थल विस्तारमा स्थानीय नागरिकसँगै वीरेन्द्रनगर नगरपालिका पनि सहमत हुन सकेको छैन । अहिले भनिए अनुसार विमानस्थल विस्तार गरिँदा पनि यसले दिगो समाधान नहुने स्थानीय र नगरपालिकाको भनाइ छ । पछिल्लो समय विमानस्थल विस्तारको विषय ओझेलमा परेको छ । नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले विमानस्थल विस्तारबारे पछिल्लो पटक आफूलाई कुनै जानकारी नआएको जनाए । ‘लगत संकलन गर्दा समस्या आए पछि काम स्थगित भएको हो,’ उनले भने, ‘अहिलेसम्म काम अघि बढेको छैन । विस्तारका विषयमा आधिकारिक रूपमा कुनै जानकारी आएको पनि छैन ।’

अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेका प्रधानाध्यापक खगेन्द्र थापाले विमानस्थल विस्तारका सन्दर्भमा थप छलफल नै नभएको बताए । सरोकारवालासँग अनौपचारिक रूपमा कुराकानी भइरहेको भन्दै ठोस छलफल हुन नसकेको उनी बताउँछन् । उक्त विद्यालय पनि प्रभावित क्षेत्रमा पर्छ । प्रधानाध्यापक थापाले भने, ‘उहाँहरू (प्रदेश र संघीय सरकारका प्रतिनिधि) सँग कुरा गर्दा विमानस्थल विस्तार हुन्छ, अरु विकल्प छैन भन्नुहुन्छ । हामीले विद्यालयलगायत बस्तीको जग्गा नै किनिदिनु पर्छ भनेका छौं ।’ आफूहरूलाई सरकारले उचित विकल्प दिए विस्तारको काममा अवरोध नगर्ने उनले बताए ।

प्रभावित क्षेत्रका बासिन्दाले आफूहरूको उचित व्यवस्थापनको ठोस योजनाविनै विमानस्थल विस्तार गर्न लागिएको भन्दै विरोध जनाउँदै आएका छन् । उनीहरूले आफ्ना माग राख्न नागरिक सरोकार संघर्ष समिति बनाएका छन् । सोही संघर्ष समितिका संयोजक टीकाराम आचार्य केही समययता सरकारले आफूहरूसँग परामर्श नगरेको बताउँछन् । उनले वैशाख १६ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गरिएको बैठकमा विमानस्थल विस्तार गर्नु नै परे स्थानीयको व्यवस्थापनका लागि योजना ल्याउन माग गरेको बताए । ‘त्यसयता सरोकारवाला पक्षबीच कुनै छलफल भएको छैन,’ उनले भने, ‘हामीले सकेसम्म बस्ती नमास्न र विकल्प अन्तै खोज्न भनिरहेका छौं । विमानस्थल विस्तार गर्ने नै हो भने प्रभावित क्षेत्रको उचित व्यवस्थापन जरुरी छ ।’

नौ महिनादेखि जग्गा रोक्का

विमानस्थल विस्तारका लागि भन्दै सरकारले उक्त क्षेत्रको जग्गा रोक्का गरेको छ । जग्गा रोक्का गरेको नौ महिना बितिसकेको छ । गएको पुस ९ गतेदेखि प्रभावित क्षेत्रका जग्गा रोक्का गरिएको थियो । अहिलेसम्म न विस्तारको काम अघि बढेको छ न त जग्गा नै फुकुवा गरिएको छ । जसका कारण स्थानीयहरू मर्कामा परेका छन् । उनीहरूले घर जग्गा किनबेच गर्न र धितो राख्न पाएका छैनन् । संघर्ष समितिका संयोजक आचार्यले जग्गा रोक्का गर्दा नागरिकहरूलाई समस्या भएको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा जग्गा रोक्का फुकुवा गरिदिन निवेदन दिए पनि सुनुवाइ नभएको बताए ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले विमानस्थलको स्तरोन्नतिका लागि थप प्रगति हुन नसकेको जनाए । उनले विमानस्थल विस्तारको प्रक्रियामा देखिएका समस्या हल गर्न समस्या समाधान समितिको बैठक बोलाउने तयारी गरिएको जानकारी दिए । ‘अबको केही दिनमा बैठक बोलाउने र छलफल गरेर टुङ्गो लगाउने तयारी गरिएको छ ,’ उनले भने ।

आएन ८० सिटे जहाज

सुर्खेत विमानस्थलमा गएको माघमा श्री एयरलाइन्सले ८० सिटे जहाजको परीक्षण उडान गरेको थियो । प्राविधिक रिपोर्ट तयार भएपछि केही दिनमै काठमाडौं–सुर्खेत नियमित उडान गर्ने भनिए पनि हालसम्म उक्त जहाजले उडान नभरेको हो । उतिबेला प्राविधिक र श्री एयरलाइन्सका प्रतिनिधिहरूले परीक्षण सफल भएको भन्दै नियमित उडान गरिने जनाएका थिए । तर, अहिलेसम्म उडान हुने वा नहुने भन्नेबारे अनिश्चित नै छ । त्यसबेला सफल परीक्षण भएको र ८० सिटे जहाज अवतरण गर्न सक्ने भए पनि थप प्राविधिक अध्ययन आवश्यक रहेको औंल्याइएको थियो । परीक्षण भएको ६ महिना बितिसक्दा पनि ठूलो क्षमताको जहाजको उडान हुन नसकेको हो ।

नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख पन्थीले प्राविधिक रिपोर्टको बारेमा आफूहरूलाई जानकारी नभएको बताए । उनले रिपोर्ट तयार भए÷नभएको बुझ्दा प्राधिकरणको प्रधान कार्यालयमा बुझाएको भने जवाफ आएको जनाए । ‘यस विषयमा अरु थाहा भएन,’ उनी भन्छन्, ‘धावनमार्ग पर्याप्त नभएर हो या यात्रुुको सुनिश्चित नभएर यसबारे हामीलाई जानकारी छैन ।’

प्रकाशित मितिः   १४ भाद्र २०७८, सोमबार ०५:००