मौसमी विपद्को जोखिम

नदी तटीय क्षेत्र, बाढी, पहिरो र डुबानको जोखिम भएका स्थानमा वर्षात्ले क्षति पुर्‍याउन सक्ने आकलन गर्दै सुरक्षित तथा सतर्क रहन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

कर्णाली प्रदेशका सबैजसो जिल्लासँगै देशभर तीन–चार दिनयता मेघ गर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । अविरल वर्षात्ले विपद्का घटना हुनसक्ने जोखिम बढाएको छ । विपद् निम्तिने खतरा रहेको भन्दै स्थानीय प्रशासन कार्यालयले सूचना जारी गरी सुरक्षित रहन तथा सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रवार एक सूचनामार्फत जिल्लावासीलाई सजकता अपनाउन भनेको छ । नदी तटीय क्षेत्र, होचा स्थान, बाढी, डुबान र पहिरोको जोखिम भएका ठाउँमा वर्षात्ले क्षति पु¥याउन सक्नेतर्फ प्रशासन कार्यालयले सचेत गराएको छ । त्यस्ता ठाउँका बासिन्दालाई सुरक्षित रहन भनिएको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र ‐डीईओसी) सुर्खेतले एक–दुई दिन अझै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ । नदीमा नुहाउन जाने, काठ–दाउरा छोप्ने, माछा मार्ने, घुम्न जानेजस्ता जोखिजन्य गतिविधि नगर्न आग्रह गरिएको छ । विपद् जोखिमबारे थप जानकारीका लागि स्थानीय प्रहरी, सञ्चारमाध्यम, जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी तथा आपत्तकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराइ भू–भाग नजिक रहेकाले पश्चिम तराइसँगै पहाडी र हिमाली जिल्लामा पनि वर्षात् भइरहेको हो । केही दिन मनसुन सक्रिय रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मौसममा सुधार हुन अझै केही दिन लाग्ने छ । कर्णाली, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मोसम विज्ञान विभागले जनाएको छ ।

यसैबीच, अविरल वर्षाका कारण पहिरो जाँदा कर्णालीका विभिन्न राजमार्ग तथा सडकहरू अवरुद्ध भएको छ । सुर्खेत–नेपालगञ्ज सडक खण्ड र कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको हो । रत्न राजमार्गको सुर्खेत–नेपालगञ्ज खण्डको हर्रेमा शुक्रवार पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ । दैलेखको दुल्लू नगरपालिका–२ स्थित सुवाछेडा र गुराँस गाउँपालिकाको मेन खोलामा पनि पहिरो झरेको छ । जसले गर्दा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । प्रहरीका अनुसार राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

प्रकाशित मितिः   १२ भाद्र २०७८, शनिबार ०५:०४