भेरोसेलको दोस्रो मात्रा लगाइँदै

कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार गएको साउन १० देखि १७ गतेसम्म पहिलो मात्रा लगाएकाहरूलाई भेरोसेलको दोस्रो डोज दिन लागिएको हो । भदौ ११ र १२ गते सुर्खेतका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा खोप लगाइने छ । जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी गणेशभक्त गौतमका अनुसार खोप लगाउने व्यक्तिहरूले अनलाइन रजिष्ट्रेशन गरी खोप कार्डसहित केन्द्रमा जानुपर्ने बताए । अनलाइनको पहुँच नभएकालाई भने रजिष्ट्रेशन अनिवार्य नगरिएको उनले जनाए ।

दुई दिनको अवधिमा जिल्लामा करिब २५ हजारलाई भेरोसेलको दोस्रो मात्रा लगाउने तयारी गरिएको छ । अहिलेसम्म सुर्खेतमा ५७ हजार ६ सय २१ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । यो संख्या जिल्लामा खोप दिनुपर्ने लक्षित समूहको कूल जनसंख्याको १३ दशमलव ६ प्रतिशत हो । पहिलो डोज खोप मात्र लगाउनेको संख्या भने ६६ हजार सात सय ४२ रहेको छ ।

यसैबीच, पछिल्लो तथ्याङ्क अनुसार सुर्खेतमा कोरोनाका तीन सय ३७ सक्रिय संक्रमित छन् । कर्णाली प्रदेशभर भने सक्रिय संक्रमितको संख्या सात सय बढी छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा बुधवार थप ७० जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा अहिले संक्रमणदर २० देखि २५ प्रतिशत हाराहारीमा रहेको निर्देशनालयले जनाएको छ । बुधवार पुष्टि एकामध्ये २६ जना संक्रमित सुर्खेतका हुन् । त्यस्तै, जुम्लामा २१, रुकुम–पश्चिममा १५, कालीकोट र दैलेखमा तीन÷तीन, मुुगु र सल्यानमा एक÷एक जना संक्रमित थपिएका छन् । कर्णालीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ हजार दुई सय १६ पुगेको छ । तीमध्ये २९ हजार नौ सय ६५ जना निको भएका छन् भने तीन सय ६५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   १० भाद्र २०७८, बिहीबार ०५:०१