पूर्वाधार विकासको अवसर

कर्णाली अन्य प्रदेशका तुलनामा विकासका हरेक क्षेत्रमा पछाडि छ । यहाँका बासिन्दाले बिरामी पर्दा उपचार पाउन मुस्किल छ । सामान्य समस्या हुँदा पनि अझै जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने बाध्यता टरेको छैन । सबैजसो गाउँमा प्राथमिक उपचार केन्द्रसमेत छैनन् । भएका स्वास्थ्य संस्थामा जनशक्ति छैनन् । उपकरण र औषधिको अभाव सधैँ भइरहन्छ । त्यस्ता ठाउँमा भौतिक संरचना थप्ने र आवश्यक जनशक्ति पूर्तिका लागि सरकारी संयन्त्र उदासीन छ । स्वास्थ्य क्षेत्रको सुधार–विस्तारका लागि ल्याइएका नीति, कार्यक्रम र बजेटको कार्यान्वयन हुँदैन । सम्बन्धित निकाय जिम्मेवार नबन्दा स्वास्थ्य प्राथमिकताको विषय बन्न सकेको छैन । सरकारले बनाएका योजना अलपत्र छन् । एकातिर स्वास्थ्य संरचनाको स्तरोन्नति र विस्तार हुन सकेको छैन भने अर्कोतिर विनियोजित रकमसमेत सदुपयोग नभएको पाइन्छ ।

हरेक भौतिक निर्माणका काममा ढिलासुस्ती सरकारी निकायको पुरानै ‘रोग’ हो । स्वास्थ्यसँग जोडिएका संवेदनशील योजना पनि समयमा सुरू हुँदैनन् । निर्माण थालिएका काममा उस्तै हेलचक्य्राइँ र बेवास्ता देखिन्छ । यस्ता बेथिति प्रवृत्तिकै रूपमा मौलाएका छन् । यीनै कारणले कर्णालीको स्वास्थ्य पूर्वाधारको विकासमा ठूलो बाधा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले गएको मंसिरमा देशका सातै प्रदेशमा एकै पटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास ग¥यो । ती स्थानमा पाँचदेखि १५ शैड्ढयाका अस्पताल निर्माण गरिने भनियो । सरकारले यसलाई स्वास्थ्य क्षेत्रमा ‘ठूलो क्रान्ति’ भएको समेत बतायो । त्यसैबेला कर्णालीमा पनि आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिए । विभिन्न स्थानीय तहमा गरी कर्णालीमा ४२ स्थानमा अस्पताल भवन निर्माणका लागि शिलान्यास भएको थियो । तर, झन्डै दश महिना बितेको छ । शिलान्यास भएका स्थानमा भवन निर्माणको काम अघि बढाइएको छैन । कतिपय स्थानीय तहले भवनका लागि अहिलेसम्म जग्गा टुङ्गो लगाएका छैनन् भने केहीले डीपीआर नै नबनाएका हुन् ।

आधारभूत अस्पतालका भवनहरू निर्माण नथाल्नुमा स्थानीय तहको बढी कमजोरी देखिन्छ । संघीय सरकारले उपचारात्मक सेवा विस्तारका लागि ठूलो लगानी र योजना दिँदा पनि पालिकाहरू कार्यान्वयनमा चुके । सम्बन्धित पालिकामा सरकारले गएको आर्थिक वर्षमै बजेट पठाइसकेको थियो । कर्णालीका लागि स्वास्थ्य क्षेत्र सुधारको यो राम्रो अवसर हो । स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने अवसरको सदुपयोग समयमै हुनुपथ्र्यो । तर, त्यसो हुन सकेन । ढिलै भए पनि भौतिक संरचना निर्माणको कामलाई अब गति दिनुपर्छ । यतिबेला कर्णालीको स्वास्थ्य थप संकटमा छ । कोरोना महामारीले स्वास्थ्य पूर्वाधारको आवश्यकता र महŒव झनै महसुस गराएको छ । विगतदेखि नै पूर्वाधार व्यवस्थापनमा खेलाँची गरिएका कारण कोरोना संक्रमितको उपचारमा निकै समस्या झेल्निुपरेको थियो । अब स्वास्थ्य पूर्वाधार विकासमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । आधारभूत उपचार सेवा गाउँमै दिने सरकारको योजना कार्यान्वयनमा जोड दिन आवश्यक छ ।

प्रकाशित मितिः   १० भाद्र २०७८, बिहीबार ०५:००