स्वास्थ्यचौकीमा विशेषज्ञ सेवा

वीरेन्द्रनगर–९ मा रहेको लाटीकोइली स्वास्थ्यचौकीको सेवा स्तरोन्नति गरिएको छ । स्वास्थ्यचौकीले विशेषज्ञ सेवा सुरू गरेको हो । वि.सं. २०३४ सालमा स्थापना भएको उक्त स्वास्थ्यचौकीमा गत सालदेखि मेडिकल अधिकृतले सेवा दिँदै आएका थिए । बुधवार वीरेन्द्रनगर नगरपालिकाको पहलमा विशेषज्ञ सेवाको सुरूवात गरिएको जनाइएको छ । स्वास्थ्यचौकीमा विशेषज्ञसहित ईसीजी र भिडिओ एक्सरे सेवाको समेत थालनी गरिएको छ । यसअघि प्राथमिक सेवा दिँदै आएको स्वास्थ्यचौकीले आकस्मिक सेवा समेत दिने तयारी गरेको स्वास्थ्यचौकी प्रमुख नरेश्वरी शाहीले बताइन् । उनका अनुसार हाडजोर्नी विशेषज्ञ डा. शुभ श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. कृतिका थापा र रेडियोलोजिष्ट डा. डीबी गुरूङ्गले विशेषज्ञ सेवा दिने भएका हुन् । उनीहरू तीनै जना लाटीकोइली निवासी पनि हुन् । हाल उनीहरूले निःशुल्क विशेषज्ञ सेवा दिने सहमति भएको जनाइएको छ ।

विशेषज्ञ सेवा सुरू गर्न बुधवार स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल, वडा अध्यक्ष सुरेश मानन्धर र वरिष्ठ अधिवक्ता विद्याभूषण मानन्धरको पनि उपस्थिति थियो । सोही अवसरमा नगर प्रमुख सुवेदी र उपप्रमुख ढकालले स्वास्थ्य सेवा नगरको उच्च प्राथमिकतामा रहेको बताए । स्वास्थ्य क्षेत्रको सुधार र विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको उनीहरूको भनाइ थियो । निःशुल्क चिकित्सकीय सेवा प्रदान गर्दै आएकी स्त्रीरोग विशेषज्ञ डा. कृतिका थापालाई सम्मान समेत गरिएको थियो ।