९५ प्रतिशत लक्षित वर्ग खोपको पर्खाइमा

कर्णालीमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने १८ वर्षमाथिका करिब साढे नौ लाख जनसंख्यामध्ये ४७ हजार आठ सय १६ जनाले मात्र दुवै डोज खोप लगाएका छन्।

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनुपर्ने ९५ प्रतिशत लक्षित वर्ग पर्खाइमा छन् । प्रदेशभर हालसम्म पाँच प्रतिशत जनसंख्याले मात्र खोप पाएका हुन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार खोपको लक्षित वर्गमध्ये पाँच प्रतिशतले पहिलो र दोस्रो दुुवै डोज लगाएका छन् । यहाँको कूल जनसंख्या १८ लाख २४ हजार हाराहारी छ । अहिले प्रदेशमा करिब १५ लाख जनसंख्या रहेको सरकारी तथ्याङ्क छ । झण्डै तीन लाख कर्णालीबासी प्रदेश बाहिर छन् ।

कर्णालीमा कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने १८ वर्षमाथिका करिब साढे नौ लाख जनसंख्यामध्ये ४७ हजार आठ सय १६ जनाले मात्र दुवै डोज खोप लगाएका छन्।

१८ वर्ष माथिको उमेर समूहलाई मात्र लगाउने भएकाले कर्णालीमा खोप दिनुपर्ने जनसंख्या साढे नौ लाख रहेको प्रक्षेपण गरिएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार अहिलेसम्म खोपको दुवै मात्रा ४७ हजार आठ सय १६ जनाले लगाएका छन् । चार वटा जिल्लामा भेरोसेलको दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेको उनले जनाए ।

निर्देशनालयका अनुसार खोप लगाएका एक लाख ३४ हजार नौ सय ८१ जनामध्ये ८२ हजार ६ सय ७० जना कोभिसिल्डको दोस्रो मात्रा लगाउन बाँकी छन् । उनीहरूले पहिलो डोज लगाएको चार महिना बितिसकेको छ । कोभिसिल्ड खोप आयात नहँुदा उक्त संख्यालाई दोस्रो डोज दिन समस्या भएको हो । कोभिसिल्ड खोप कहिले आउँछ भन्नेबारे अन्योल कायमै रहेको सरकारी अधिकारीहरू बताउँछन् । कोभिसिल्डको पहिलो मात्रा एक लाख आठ हजार चार सय ८६ जनाले लगाएका थिए । तीमध्ये २५ हजार आठ सय १६ जनाले मात्रै दुुवै डोज लगाएका छन् । भदौसम्म्म कोभिसिल्ड आउन सक्ने अपेक्षा गरिएको निर्देशनालयले जनाएको छ ।

यस्तै, भेरोसेलको पहिलो डोज लगाएका २६ हजार चार सय ९५ मध्ये करिब २२ हजार दोस्रो डोजकोे पर्खाइमा छन् । निर्देशनालयका अनुसार भेरोसेलको खोपको दोस्रो मात्रा लगाउने अभियान यतिबेला हुम्ला, रुकुम–पश्चिम, जाजरकोट र डोल्पामा चलिरहेको छ ।

४६ हजारलाई खोप लगाइँदै

कोरोनाविरुद्धको खोप अभियानको पाँचौँ चरणमा कर्णालीका ४६ हजार बढीलाई खोप लगाइँदै छ । शुुक्रवार भेरोसेल र जोन्सन गरी ६० हजार डोज खोप कर्णालीमा आइपुुगेको छ । भेरोसेलको ४३ हजार डोज ल्याइएको हो भने एक पटक मात्र लगाए पुग्ने जोन्सन खोप १७ हजार डोज आएको छ । अहिले ल्याइएको भेरोसेल र जोन्सन खोप ५० वर्षमाथिको उमेर समूह र विदेश जानुपर्ने व्यक्तिहरूलाई प्राथमिकतामा राखेर लगाउन लागिएको हो । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले केही दिनभित्र यी दुवै खोपको थप डोज पनि आइपुग्ने जानकारी दिए । नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप आएको छ । कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्राथमिकतानुसार नियमितरूपमा नागरिकलाई लगाउने अभियान चलिरहेको जनाइएको छ ।

संक्रमण बढ्यो

कर्णालीमा केही दिनयता कोरोना संक्रमणदर फेरि उकालो लागेको छ । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशको संक्रमणदर ३५ प्रतिशत छ । असार अन्तिम सातातिर २० प्रतिशतमा झरेको संक्रमण पुनः बढेको हो । दोस्रो लहरको सुरुवातीमा यहाँको संक्रमणदर ९० प्रतिशत माथि पुगेको थियो । निषेधाज्ञाका कारण कम हुँदै गएको संक्रमणको जोखिम केही दिनयता बढ्दो क्रममा देखिएको छ । प्रदेशका सबैजसो जिल्लामा निषेधाज्ञा खुकुलो पारिसकिएको छ । निषेधाज्ञालाई क्रमशः खुकुलो पारिँदा संक्रमणदर पनि बढ्दै गएको पाइएको हो । भिडभाड र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचक्य्राइँ गर्दा संक्रमण बढेको जनस्वास्थ्यकर्मीहरू बताउँछन् । महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन उनीहरूले सचेत गराएको छन् ।

कोरोनाविरुद्धको लडाइँमा महŒवपूर्ण मानिएको खोपको माग कर्णालीमा पनि अत्याधिक छ । तर खोप अभावमा सबै नागरिकहरूले उक्त सेवा पाउन सकेका छैनन् । कर्णालीमा गएकोे माघ १४ देखि खोप लगाउन सुरू गरिएको थियो । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, ज्येष्ठ नागरिक, सरसफाइकर्मी लगायतलाई प्राथमिकताका आधारमा खोप दिएको सरकारले पछिल्लो समय उमेर समूह अनुसार खोप अभियान सञ्चालन गर्दै आएको छ ।

यसैबीच, प्रदेशमा शुक्रवार एक सय २४ जना कोरोना संक्रमित थपिएका छन् । सेवा निर्देशनालयका अनुसार तीन सय ५४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । योसँगै कर्णालीमा हालसम्म संक्रमित हुनेको संख्या २९ हजार सात सय ६४ पुगेको छ । तीमध्ये २७ हजार ६ सय ३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये तीन सय ५० जनाको ज्यान गएको छ । प्रदेशभर एक हजार बढी सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः   ९ श्रावण २०७८, शनिबार ०५:००