शिक्षकहरू आन्दोलित

कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु पर्नेदेखि शैक्षिक मुद्दाको समाधान गर्नुपर्ने सम्मका माग राखेर शिक्षकहरू आन्दोलित भएका छन् ।

कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने माग राखेर शिक्षकहरू आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघको चौथो चरणको आन्दोलन अन्तर्गत शुक्रवार सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा शिक्षकहरूले तीन घण्टा धर्ना दिएका हुन् । सोहीआन्दोलनको कार्यक्रमअनुसार सुर्खेतमा पनि बिहान १० बजे १ बजेसम्म धर्नामा बसेर ३४ बुँदे मागपत्र पेश गरिएको नेपाल शिक्षक महासंघ सुर्खेतका सहअध्यक्ष एवम् जिल्ला आन्दोलन परिचालन समितिका संयोजक श्याम वलीले जनाए ।

शिक्षकहरूलाई सरकारले तत्काल कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउनु पर्नेदेखि थुप्रै शैक्षिक मुद्दाहरूको हल गर्न माग गर्दै आफूहरू आन्दोलित भएको वलीले बताए । उनकाअनुसार शिक्षकहरूले राहत, अस्थायी, करार, साविक उच्च मावि, बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीहरूलाई दरबन्दी सिर्जना गरि स्थायीको प्रक्रियामा लिनुपर्ने माग राखेका छन् । त्यस्तै, माध्यमिक तहसम्मको शिक्षा पूर्णरूपमा निःशुल्क हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था गरिनुपर्ने लगायतका माग पनि शिक्षकहरूका छन् ।

आन्दोलनरत शिक्षकले शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेलाई माग–पत्र बुझाएका छन् । धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य दुर्गा शाक्य, महासंघ कर्णाली प्रदेश समिति सहअध्यक्ष नन्दराम गुरुङ र महासचिव गोविन्द ढकाल पनि सहभागी थिए ।

प्रकाशित मितिः   २६ असार २०७८, शनिबार ०५:००