सुशीला स्मृति छात्रवृत्ति कोष स्थापना

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकी सुशीला योगी श्रेष्ठको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । प्युठानको खलंगा निवासी उनी वीरेन्द्रनगर–४, भैरवस्थानमा जन्मिएकी हुन् ।

कोरोना संक्रमित योगीको उपचारका क्रममा ३५ वर्षको अल्पायुमै निधन भएको थियो । स्वास्थ्यकर्मीसमेत रहेकी उनको झापास्थित बी. एण्ड सी. अस्पतालमा उपचारका क्रममा जेठ ५ गते निधन भएको हो । छोरीको सम्झनामा उनका आमाबुवाले एक लाख रूपैयाँको ‘सुशीला स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेका हुन् । उक्त रकम मृतकका बाबुआमा लालबहादुर योगी, शान्ता योगी तथा भाइ डा. सुशील योगीले आइतवार जगन्नाथ–देवी प्राथमिक विद्यालय, वीरेन्द्रनगर–३, मसुरीखेत, सुर्खेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्रबहादुर सिंह र प्रधानाध्यापक मिठ्ठु के.सी.लाई संयुक्तरूपमा हस्तान्तरण गरेका छन् ।

सुशीलाको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना गरिएको उनका मामा तथा विद्यालयका सल्लाहकार बलभद्र भारतीले जानकारी दिए । उनका अनुसार उक्त कोषबाट प्राप्त हुने लाभांशलाई वार्षिकरूपमा गरीब तथा असहाय बालबालिकालाई छात्रवृत्तिस्वरूप प्रदान गरिनेछ । यसअघि मृतकका बाजेबज्यै जगन्नाथ भारती तथा देवी भारतीले समेत २०६३ सालमा ३ कठ्ठा ७ धुर जग्गा दानस्वरूप उक्त विद्यालय स्थापनाका लागि प्रदान गरेका थिए ।

प्रकाशित मितिः   १७ जेष्ठ २०७८, सोमबार ०५:००