सन्निकटमा अर्को संकट

बसन्तीकुमारी सिंह शाही

बल्लतल्ल केही राहतको श्वास फेर्दै गरेका हामी फेरि त्यही महामारीको भूमरीमा हेलिएका छौं । हामीले सायदै सोचेका थियौं, कोरोना भाइरस (कोभिड–१९) को त्रासदीपूर्ण सुनामी फर्केर आउनेछ । तर कल्पना नै नगरिएको नयाँ भेरियन्टसहितको दोस्रो लहरले यतिबेला थप आक्रान्त बनाएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमण फैलिए लगतै नेपालमा पनि भित्रियो । भारतको सीमानाकासँग जोडिएको सहर नेपालगञ्ज ‘हटस्पट’ नै बन्यो । नेपालगञ्जबाट सुर्खेत सरेको कोरोना संक्रमण कर्णाली प्रदेशभर यति द्रूत गतिमा फैलियो कि हिमाली जिल्लाका गाउँहरूमा पनि कति चाँडै पुग्यो पत्तै भएन ।

हुन त विभिन्न किसिमका महामारीबाट कर्णाली सधैँ पीडित छ । रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला जस्ता रोगहरूको सानोतिनो महाममारीले बर्सेनि सताइरहन्छ, जसलाई यहाँका नागरिकले भोग्दै र झेल्दै आएका छन् । तर यसपटकको कोरोना महामारीले भने विश्वजगतलाई नै आक्रान्त पारिरहेको छ । यो सामान्य महामारी होइन । संक्रमितको संख्या दैनिक बढिरहेको छ । हरेक दिन नै नागरिकको ज्यान लिइरहेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर पछिल्लो पटक निषेधाज्ञा जारी गरिएको पनि एक महिना पुग्यो । संक्रमण र मृत्यु रोकिएको छैन । जताततै त्रास छ । संक्रमण फैलिन नदिन जारी गरिएको निषेधाज्ञाका कारण कर्णालीका बासिन्दाहरू गाउँतिर फर्किएका छन् । साथमा उनीहरूले कोरोनाको नासो ल्याए वा ल्याएनन् त्यसको नतिजा त आउला नै । तर सहरबाट फर्केकाहरूको लागि खानाको तर्जुमा गर्न घरमा हुनेहरूलाई भने गाह्रै भइरहेको होला । फापरको लगड र कोदोको रोटी खाने बानी नभएका सहरबासी सन्तानहरूलाई चोती र सिमीको तिहुँनसँग गास निल्न अलि अप्ठ्यारै पर्ला । तर समय र परिस्थिति यस्तै बन्दै गयो भने त्यही निल्न गाह्रो हुने गास नपाएर भौतारिनु पर्ने अवस्था आउने पक्का पक्की छ ।

सिङ्गो देश कोरोना महामारीसँग जुधिरहँदा सन्निकटमा अर्को ठूलो संकटका संकेत देखा परिरहेका छन् । हामी भोकमरीको ठूलो अनिकालमा पर्ने सक्नेछौं । कोरोना महामारी नियन्त्रणमा आएपनि त्यसले भोकमरीको महामारी छोडेर जाने पक्कापक्की जस्तै छ । कर्णालीका हिमाली जिल्लाहरूमा भोकमरीको खबर हरेक वर्ष समाचार बनेर आउँछन् । भोकमरी भन्दा पनि ‘भातभरी’ले सताउँछ । आफ्नो अर्गानिक खाना भकारीमा थन्क्याएर ‘चा’ खाएर ‘मल’ मात्रै बाँकी रहेको वस्तुको भात खान लालायित हुने यहाँका नागरिकका सपनाहरू साकार हुन केही पुस्ता अझैं कुर्नु पर्ने नै छ । सपना साकार होलान या नहोलान् आफ्नै ठाउँमा छन् तर हामीले आफ्ना सपनाहरू साकार पार्नको लागि जग हाल्यौं अथवा भत्कायौं यो कुराले अर्थ राख्दछ । हामीले आफ्नो रैथाने उत्पादनलाई महŒव दिन नसकेकै कारण यो अवस्था आएको हो । यसमा कुनै विचारात्मक कारण नै छैन । तर यो कुरा निश्चित छ त्यसको असर अबदेखि नसक्नेछ ।

सहरका उद्योगधन्दाहरूले आफ्नो उत्पादन बढाउनको लागि चाहिने कच्चा पदार्थ र समयको अभावमा काम गर्न नसक्ने बाधक समय निम्तिन लागेको छ । अहिले कलकारखाना, व्यापार, उद्योगधन्दाहरू सबै बन्द छन् । व्यवसायीहरूले पनि यो समयमा काम गर्न सकेका छैनन् । तङ्ग्रीन लागेको विश्व अर्थतन्त्रमा फेरि ह्रास हुने पक्का छ । यस्तै अवस्था लामो समयसम्म चलिरह्यो भने हाम्रा माग अनुसारको आपूर्ति पाउन गाह्रो हुनेछ र उपभोक्ता छटपटाउन थाल्नेछ । उत्पादनविना बाहिरबाट कर्णाली प्रदेश भित्रिने सबै किसिमको सामानहरूको आपूर्ति रोकिने छ । त्यही

‘चा’ निलेर ‘मल’ मात्रै बाँकी रहेको भात खाने चीज पनि कर्णालीले पाउन मुस्किल पर्नेछ । यसको परिणाम भनेको भोकमरी हो । त्यसैले रोगपछिको सन्त्रास नहराउँदै आउन सक्ने भोगकरीको लागि भनेर हामीले अहिले देखि नै सोच्नु पर्ने बेला आएको छ ।

काम गर्ने बानी छुटिसकेको भए पनि गाउँका बाँझा रहेका जमिनहरूमा जे फल्छ त्यही खेती गरि स्थानीय अन्नबाली उब्जाउनतिर लाग्नु अबको आवश्यकता हो । स्थानीय आलु, सिमी, चोती, चिनो, फापर, कागुनो, कोदो, जौं, गहुँ, नाफल र यस्तै जहाँ जे फल्छ त्यही खेती गरी अन्नको जोहो गर्न जरुरी छ । त्यस्तै स्याउ, चुली, खामु, आरु, आरुबखडा आदि जस्ता फलफूलको उत्पादन हुने ठाउँमा त्यहीँअनुसार फलफूल खेतीमा ध्यान दिइ उत्पादन बढाउनु पर्छ । तरकारी खेती हुने ठाउँमा व्यावसायिक रूपमा तरकारी खेती गर्नु, पशुपालन फस्टाउने ठाउँमा व्यावसायिक रूपमा पशुपालन गर्नु, जडिबुटीबाट आम्दानी हुने ठाउँमा यसलाई बढावा दिनु आजको हाम्रो दायित्व हो । स्थानीयबासीहरूले स्थानीय उत्पादनमा जोड दियो भने भविष्यमा निम्तिन सक्ने भोकमरीलाई हामी सजिलै टार्न सक्छौं ।

आउनसक्ने संकटप्रति समयमै सजग हुन अपरिहार्य छ । यसमा प्रदेश सरकारको पनि अहम भूमिका रहन्छ । कर्णाली प्रदेश सरकार आगामी बजेट बनाउने तयारीमा जुटिरहेको छ । नयाँ बजेट कार्यक्रममा कृषि प्रविधिलाई बढावा दिने खालका योजनाहरू ल्याउनु जरुरी छ । कृषकलाई हौसला पुग्ने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिइ कृषि प्रविधितिर स्थानीय नागरिकहरूलाई आकर्षित गर्ने खालका कार्यक्रमका योजना तर्जुमा गर्नुपर्छ । कृषि उत्पादन वृद्धि गर्नको लागि कृषकहरूलाई बिउ, मल, औजार जस्ता कृषि उत्पादनमा सहयोगी उपकरणहरूमा अनुदान दिने जस्ता कार्यक्रमहरू ल्याउनु पर्छ । सिँचाइ नभएको ठाउँमा सिँचाइका योजनाहरू दिनुपर्छ । व्यावसायिक रूपमा कृषि (स्याउ, आलु, सिमी) गर्नेहरूलाई सहुलियत ऋणको व्यवस्था गर्नु पर्छ । कृषिमा आधुनिक प्रविधिहरू सिकाउनको लागि तालिमका कार्यक्रमहरूको योजना गर्नुपर्छ । यस्ता कुरामा प्रदेश सरकार पनि गम्भीर भएन भने भविष्यमा निम्तिन सक्ने भोकमरीलाई थेग्न मुस्किल हुनेमा दुईमत छैन । त्यसैले कर्णाली प्रदेश सरकारलाई आग्रह छ कि बेलैमा सोचौं र सोहीअनुसार योजना बनाएर काममा लागौं ।

अबको जमाना भनेको परम्परागत एक कुखुरा, एक बाख्रा, एक गाई, एक जुमा, एक घोडा जस्ता वस्तुभाउ पालेर प्रगति गर्न सकिदैन । एक बारीमा फापर, एक बारीमा कोदो, एक बारीमा धान, एक बारीमा चिनो फलाएर पनि हाम्रो गुजारा नचल्ला । त्यो भनेको परम्परागत जीवन गुजार गर्ने बाटो मात्रै हो । यो परीपाटीले परम्परागत रूपमा महिलाहरूलाई फेरि पनि दैनिक १९ घण्टा काममा पेलाउनुबाहेक अरु प्रगति हुँदैन । यो भनेको उपलब्ध घरका सबै मानवीय स्रोतहरूलाई व्यवसायप्रति केन्द्रित नगराई आशातित काम गर्नु मात्रै हो । यसले कामको चटारो मात्रै बढाउँछ, आर्थिक उन्नतिको बाटो पहिल्याउँदैन । आशातित आर्थिक उन्नति गर्न र व्यावसायिक कृषितर्फ मोडिनलाई एक पक्का व्यवसाय अँगाल्नै पर्छ । त्यो व्यवसाय यस्तो होस् कि सबै जनाको ध्यान त्यसैमा होस् र यसले आफ्नो परिवारको आवश्यकता पूरा गरी समुदायको आवश्यकताहरूलाई पनि पूर्ति गर्न सकोस् ।

यस्ता आर्थिक लाभ हुने खालका व्यवसायहरूको व्यावसायिक तरिकाबाट अगाडि बढ्न प्रदेश सरकारले आफ्ना नागरिकहरूको ध्यान केन्द्रित गराई व्यावसायिक बनाउने किसिमका कार्यक्रमहरू ल्याउनु पर्छ । चौंरी पाल्नेलाई चौंरी मात्रै पालेर आफू मात्रै नभइ त्यसको उत्पादन (दुध, छुर्पी, चिज, घिउ, बाच्छाबाच्छी, मासु) को बेचविखनबाट नगद आम्दानी गर्न सक्ने बनाउने र त्यो क्षेत्रको मागको पनि पूर्ति गर्न सक्ने बनाउने योजना तजुमा गर्नुपर्छ । यस्ता खालका बृहत व्यवसायहरूमा आजका युवा पिँढीलाई संलग्न गराउने योजनाहरूको तर्जुमाको खाँचो छ । यसो गरेमा कर्णालीले कृषिक्रान्तिमार्फत आफ्नो प्रदेशको आर्थिक कायापलट गर्न सक्छ । लगानीको अभावमा खाडीतिर भौतारीने युवा जनशक्तिलाई हामी यतै रोकेर उत्पादनमुखी बनाउन सक्छौं । अबको एक दुई वर्षमा पर्यटन व्यवसायबाट लाभ लिन सकिने अवस्था नलाउला । स्थानीय कृिष प्रविधिलाई बढावा दिइ कृषकलाई हौसला दिने खालका योजना तर्जुमा गरे मात्रै आउन सक्ने भोकमरीको लागि हामी तयार रहन सक्छौं ।

अहिले स्थानीय बासिन्दाहरूमा सरकारले सित्तै दिनु पर्छ र हामीले खानुपर्छ भन्ने जुन गलत सोचको विकास भइरहेको छ त्यसलाई निमिट्यान्न पार्नै पर्छ । स्थानीयवासीमा यस्तो किसिमको सोच पनि हाम्रै (सरकार) कारण भएको हो । स्थानीय नागरिक स्थानीय सरकारको मुख ताकेर बस्ने, स्थानीय सरकार प्रदेश सरकारको मुख ताकेर बस्ने र प्रदेश सरकार केन्द्र्रीय सरकारको मुख ताकेर बस्ने हाम्रो प्रवृत्तिलाई हटाउन सक्नु हाम्रो अबको दायित्व र असल कार्य हुन सक्छ । हामी जबसम्म परजीवी प्रवृत्ति त्याग्दैनौ र जीवन जिउने सजिलो तरिकालाई त्याग्न सक्दैनौं तबसम्म हामीले आफ्नो आर्थिक प्रगति कदापी गर्न सक्दैनौं । सन्तान दरसन्तानलाई पुग्ने सम्पत्ति हामीलाई किन चाहियो र आफ्नै पुस्तामा आफूलाई पु¥याउन सक्ने र अरूलाई दिन सक्ने भएर मात्रै बस्न सक्यौं भने हाम्रो गर्व त्यही नै हो ।

हामीले नै नागरिकलाई अल्छी बनाएका छौं । अनुदान सेवाका नाममा कुहेका खाद्यान्न र वस्तु बाँड्ने चलन चलायौं । गरी खाने बनाउनुको साँटो बसी खाने बनायौं । बेची खाने बनाउनुको साटो मागी खाने बनायौं । नागरिकलाई आफैमा आश्रित हुनबाट पछाडि धकेल्दै हामीमा आश्रित हुन सिकायौं । चुनावमा झुटा आश्वासनहरू बाँड्यौं । पैसाले उनीहरूको अधिकारले पाएको एक भोट किन्यौं । नागरिकको आफ्नो सीप र उर्जालाई उचित ठाउँमा प्रयोग गर्नबाट रोक्यांै । खेती किसानी गर्न छोडेर राजनैतिक नेताका ढोकामा योजनाहरू माग्न लाइनमा बस्ने बनायौं । योजनामा दिएको रकमको प्रतिशत माग्यौं । यसरी सजिलै पाउन थालेपछि स्थानीयहरूले भएको खेतीयोग्य जमिन पनि बाँझै छोडेर सरकारको आश गर्न थाले । नेताको आश गर्न थाले । योजनाका नाममा विनासित्ती बाँडीखाने पैसा नागरिकहरूलाई दियौं । के कामको लागि पैसा दियौं त्यसको लेखाजोखा गरेनौं । कामको अनुगमन मूल्याङ्कन सही तरिकाले गरेनौं । भविष्यमा आउन सक्ने नकारात्मक असरको हेक्का नै नगरी योजना दियौं । सामाजिक विश्लेषण गरेनौं । यस्तो तरिकाबाट आफैमाथि आउनसक्ने विपत्ति र वितृष्णाको हेक्का राखेनौं ।

आज नागरिक हवाईजहाजको टिकट नपाए पनि नेतालाई फोन गर्छन् । योजना पाएन भने पनि नेतालाई फोन गर्छन् । छोरोले कलेजमा भर्ना पाएन भने पनि नेतालाई फोन गर्छन् । अस्पतालमा बेड पाएन, बसको टिकट पाएन, आफूले भनेको ठेक्कापट्टा पाएन, जिल्लाका सेवाप्रदायक कार्यालयहरूले सित्तैमा काम गरिदिएनन्, सरुवा पाएन, बढुवा पाएन, जागिर पाएन, छोरो विदेश जान पाएन, पास भएन, पुलिसमा भर्ती पाएन, आर्मीमा भर्ती पाएन, लोकसेवामा नाम निस्केन, आफ्नो मान्छेले राहत र सहयोग पाएन । यी सबै सानातिना र आफैले अलिकति मेहेनत गरेर पूरा हुने काममा पनि नेतालाई फोन गर्छन् । हँुदाहुँदा त घरमा श्रीमती सुत्केरी छ खाना छैन, बाबुको क्रिया गर्नु छ खाना छैन, छोराको विवाह गर्नु छ खाना छैन सम्म पनि सरकार (नेता) कै ढोका घचघच्याउन आउने नागरीकहरू हामीले तयार गर्‍यौं ।

घरमा श्रीमती सुत्केरी हुने कुरा आजै मात्र हामीलाई थाह भएको हो र ? नौ महिना अगाडिदेखि उसले गर्भधारण गरेको कुरा त हामीलाई थाह नै हुन्छ । गर्भधारण गरेको नौ महिनापछि सुत्केरी हुन्छ भन्ने पनि हामीलाई थाह छ । तर त्यत्रो लामो अवधिसम्म किन उसलाई चाहिने खानाको जोहो हामीले गरेनौं ? हो, यसकारण गरेनौं कि हामीलाई सरकारले त्यस्तो परिस्थितिमा दिइहाल्छ । अनि किन दुःख गर्ने ? हामीलाई बानी भइसक्यो अब मागेर नै हामी हाम्रा दिनहरू गुजार्छाैं । यति भएपछि किन गर्ने त काम ? के का लागि गर्ने ? कसका लागि गर्ने ? अनि त जहिले पनि अभावै अभाव, जहिले पनि भोकमरी, जहिले पनि रोगमरी ।

यति हुँदा पनि सरकार किन यस कुरामा गम्भीर छैन । यो त झन ठूलो महामारी हो, किन यसमा ध्यान दिंदैन । यसकारण बेलैमा सोचौं । नागरिकलाई मागी खाने नभइ गरी खाने बनाउन तिर लागौं । उसको र मेरो भन्ने बानी छोडौं । हाम्रा र राम्रा नभनी काम गरौं । हामी पनि आफनो दायित्व बोध गरौं । यसो गर्दा असम्भव भन्ने केही होला र ?

(लेखक कर्णाली प्रदेश लोकसेवा आयोगको सदस्य हुन् ।)