कोरोनाविरुद्धको दोस्रो डोज खोप १२ गतेदेखि लगाइने
कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको दोस्रो डोज खोप दिइने भएको छ । सुर्खेतका विभिन्न स्थानमा यही जेठ १२ देखि १४ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । पहिलो खोप लगाइ दोस्रो डोज छुटेकालाई जिल्लाभर खोप दिइने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । गएको माघ १४ देखि २४ गते र फागुन २ देखि १० गतेसम्म पहिलो डोज लगाएकालाई दोस्रो डोज खोप लगाउन लागिएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दोस्रो डोज खोप लगाउन छुटेकालाई खोप कार्ड लिएर तोकिएका केन्द्रमा उपस्थित हुन अनुरोध गरेको छ । कार्यालयका अनुसार जेठ १२ गतेदेखि १४ गतेसम्म प्रदेश अस्पताल (फिष्टुला केन्द्र) मा खोप लगाइने छ । जेठ १३ गते स्वास्थ्यचौकी राकम, मेहलुकना अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर, प्राथमिक स्वास्थ्य केन्द्र सालकोट, प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ्ग, स्वास्थ्यचौैकी छिन्चु, स्वास्थ्यचौकी कुनाथरी र स्वास्थ्यचौकी गुटुमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
यस्तै, फागुन २३ गतेदेखि चैत ३ गतेसम्म पहिलो डोज लगाएका अग्रपंक्तिमा खटिनेहरूका लागि कार्यालयले तत्कालै सूचना जारी गर्ने तयारी गरेको कार्यालय प्रमुख चेतननिधि वाग्लेले बताए । कर्णालीमा एक लाख आठ हजार चार सय ८६ जनाले पहिलो डोज लगाएका थिए । तीमध्ये २१ हजार सात सय ४२ जनाले मात्रै दोस्रो चरणको खोप लगाएका छन् । सुर्खेतमा झण्डै साढे ६ हजारले मात्र दोस्रो डोज लगाएका छन् । अहिलेसम्म खोप नलगाएका १८ वर्षभन्दा माथिका खोप लगाउन चाहने व्यक्तिहरूले वेवसाइटमा आवेदन दिनुपर्ने उनले जानकारी दिए । खोप लगाउन चाहनेले (https://vaccine.mohp.gov.np) मा आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
प्रकाशित मितिः ८ जेष्ठ २०७८, शनिबार ०५:००
साझा बिसौनी ।