निषेधाज्ञामा के बन्द, के खुला?

सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिमा फैलिएको छ । संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । सोमवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम बढेको ठहर गर्दै निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । सोहीअनुसार गएको मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा गरिएको हो । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने स्थानीय प्रशासनले जनाएको छ ।

जनस्वास्थ्यका मापदण्डको पालना गरी दैनिक उपभोग्य खाद्य सामग्री, तरकारी, दुग्ध पदार्थ र ग्यास पसल हरेक दिन बिहान तीन घण्टा खुल्ने छन् । यस्ता पसलहरू बिहान ६ देखि नौ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । त्यस्तै, निषेधाज्ञाको समयमा स्वास्थ्य, सुरक्षा, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, औषधि पसल, वित्तीय संस्थाका एटीएम सेवा लगायतका अत्यावश्यक सेवा सञ्चालन हुुने छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार एम्बुलेन्स, दमकल, शववाहन, झण्डावाला सरकारी तथा निलो प्लेटका सवारी साधनहरू र अत्यावश्यकीय सेवा सञ्चालनका लागि खटिने जनशक्तिले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

अत्यावश्यक बाहेकका काममा हिँड्डूलमा रोक लगाइएको छ । निषेधाज्ञा अवधिभर सबै सरकारी कार्यालय बन्द हुनेछन् । यो समयमा विकास निर्माणका कामहरू भने नरोकिने प्रशासनले जनाएको छ । विकास निर्माणका काम गर्नको लागि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था गरिएको छ । हवाइ उडान खुला राखे पनि सडक यातायात सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञामा सार्वजनिक यातायातका साधन बन्द भए पनि हवाई सेवा भने सञ्चालन हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र संक्रमणबाट जोगिन प्रशासनले सर्वसाधारणमा अपिल गरेको छ । आदेशको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने प्रजिअ रिजालले बताए ।

प्रकाशित मितिः   १५ बैशाख २०७८, बुधबार ०५:०२