नजरअन्दाज नगर
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर फेरि बढ्दै गएको छ । कर्णाली प्रदेशमा पनि दैनिक संक्रमित बढ्न थालेका छन् । पछिल्लो तीन दिनमै करिब एक जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्याङ्कले कर्णालीमा कोरोना संक्रमण दर उच्च रहेको देखाउँछ । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएको छ । त्यसमा पनि कर्णाली सबैभन्दा बढी जोखिममा छ । सरकारले मुलुकका १४ जिल्लालाई उच्च जोखिमयुक्त जिल्ला भनेको छ । जसमा सुर्खेत पनि पर्दछ । तर जोखिमयुक्त जिल्लामै हेलचक्य्राइँ गरिएको छ । जोखिमलाई नजरअन्दाज गरिएको छ । सावधानी अपनाइएको छैन । बेवास्ता बढ्दो छ । यो राम्रो संकेत होइन ।
केही महिनाअघि संक्रमण शून्य जस्तै भएको कर्णालीमा दोस्रो लहरको संक्रमण देखिन थालेको हो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपनि स्वास्थ्य सुरक्षा सावधानीमा भने बेवास्ता बढ्दो छ । व्यक्तिगतदेखि सार्वजनिक स्थानहरूमा अपनाउनुपर्ने सावधानीमा हेलचक्य्राइँ भएको हो । तीव्र गतिमा संक्रमण फैलिएका भारतका विभिन्न सहरहरूबाट आउनेहरू निष्फिक्री कर्णाली भित्रिएका छन् । यसरी दैनिक सयौं मान्छे कर्णाली आइरहँदा सीमा नाकामा परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छैन । बजार र अन्य सार्वजनिक स्थलहरूको भिडभाडले झनै कोरोनाको जोखिम बढाएको छ । सेवाग्राहीको भिड लाग्ने कार्यालयहरूमा पटक्कै स्वास्थ्य सावधानी अपनाइएको पाइँदैन । त्यस्ता कार्यालयको भिड हेर्दा संक्रमणबाट बच्न सकिने अवस्था देखिँदैन । गत वर्ष संक्रमण देखिएको सुरूवातीमा निकै सावधानी अपनाउने प्रयास गरेको पाइएपनि यसपटक भने जोखिमलाई नजरअन्दाज गरिएको हो । हिजोआज सरकारी कार्यालय प्रवेश गर्दा सर्वसाधारणहरूका लागि सेनिटाइजर, साबुन र पानीको समेत व्यवस्था गरिएको छैन । सुरक्षा सावधानीमा बढ्दो लापरबाहीसँगै भयावहस्थिति आउनसक्ने चिकित्सक तथा जनस्वास्थ्य विज्ञरूले बताउँदै आएका छन् । सबैभन्दा बढी लाभग्राहीको भिडभाड हुने कार्यालयमा नै स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको छैन ।
कर्णाली प्रदेश जोखिममा हुनुको अर्को कारण भारत पनि हो । छिमेकी मूलुक भारतमा संक्रमण निकै तीव्र छ । भारतबाट कर्णाली फर्किनेहरू पनि बढेका छन् । तर कर्णाली प्रवेश गर्ने सीमा नाकाहरूमा पनि निगरानी फितलो छ । मुख्य नाका बबईमा ज्वरो मात्र चेक गरेर भारत तथा नेपालकै अन्य सहरबाट आएकाहरूलाई सीधै गाउँ पठाउने गरिएको छ । भारतबाट फर्किनेहरू प्रायः यही नाका भएर आउँछन् । एकातर्फ संक्रमण दिनप्रति दिन बढ्दै गएको छ । अर्कोतर्फ उच्च सावधानी अपनाउनुपर्नेमा बेवास्ता र हेलचक्य्राइँ गरिएको छ । समयमै सतर्कता अपनाइएन भने कोरोना संक्रमणबाट जोगिन सकिदैन । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकमामा जाँच बढाउनुपर्ने हुन्छ । सार्वजनिक स्थानहरूमा हुने भिडभाड नियन्त्रण गर्नुपर्ने हुन्छ । स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोगसहितका मापदण्डको प्रयोग अनिवार्य गरिनुपर्दछ । तब मात्रै हुनसक्ने जोखिम नियन्त्रण गर्न सकिन्छ । अहिलेजसरी नजरअन्दाज गर्दा ठूलो क्षति निम्तिनेतर्फ सबै सचेत हुनु अपरिहार्य छ ।
प्रकाशित मितिः ७ बैशाख २०७८, मंगलवार ०६:००
साझा बिसौनी ।