प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को कानुन संकाय अन्तर्गत बीए एलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले बुधवार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीए एलएलबी अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो । उक्त प्रवेश परीक्षा विवादित भएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा नै रद्द गरी चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो ।

कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उत्तीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट निवेदन दिएका थिए । उनीहरूले पहिलेकै प्रवेश परीक्षाको नतिजालाई मान्यता दिन र पुनः प्रवेश परीक्षा रोक्न माग गरेका थिए । विद्यार्थीहरूको माग अनुसार नै उच्च अदालतले प्रवेश परीक्षा नगर्न÷नगराउन अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मितिः   १९ चैत्र २०७७, बिहीबार ०६:००