पत्रकार महासंघको साधारणसभा

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलवार वीरेन्द्रनगरस्थित महासंघको सभाहलमा वार्षिक साधारणसभा गरिएको हो ।

सभाका प्रमुख अतिथि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले साधारणसभाको अवसरमा शुभकामना व्यक्त गर्दै पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । उनले जनताको बलिदानबाट आएको व्यवस्था जोगाउन पत्रकारिता माध्यमबाट आवाज र कलम चल्ने विश्वास व्यक्त गरे । मन्त्री भण्डारीले सत्य, तथ्य र अनुुसन्धानमा आधारित समाचारहरू तथा सूचनाहरू सम्प्रेषण गर्नसमेत सञ्चारकर्मीलाई सुझाएका थिए । सरकारले सधंै पत्रकारितामार्फत राम्रा कामहरूको प्रशंसा र गलत कामको आलोचना तथा सुझावको अपेक्षा गर्ने उनको भनाइ छ । प्रदेश सरकारले प्रदेश आम सञ्चार विधेयक तयार गरेको, बिमा र पत्रकारिता अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको मन्त्री भण्डारीले जानकारी समेत दिए ।

यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले अबको पत्रकारिता जनतामुखी हुनुपर्ने औंल्याए । सरकारले प्रेस तथा पत्रकारमैत्री कानुन निर्माण गर्नुपर्ने सेजुवालले बताए । जनमुखी पत्रकारिता गर्नु आवश्यक रहेको र पत्रकारिता क्षेत्रमा देखिएका विकृतिको पनि सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो ।

पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले पत्रकार समाजको अभिन्न अङ्ग भएकाले जनतालाई सुसूचित गर्ने कार्यमा सधैं लाग्नुपर्ने बताए । उनले पत्रकार आवाजविहीनको आवाज बन्नुपर्नेमा जोड दिए  ।

त्यस्तै, महासंघ शाखा सुर्खेतका पूर्व अध्यक्ष पीताम्बर ढकाल, प्रेस स्वतन्त्रता सेनानी बालाराम शर्मालगायतले पत्रकारको संख्यात्मक विकास मात्र नभइ गुणात्मक पक्षमा पनि ध्यान दिइनुपर्ने सुझाएका थिए । मर्यादित, विश्वासिलो र जिम्मेवार पत्रकारिता गर्नुपर्ने उनीहरूको सुझाव छ । महासंघले साधारणसभाको अवसरमा पत्रकारहरूलाई पुरस्कृत गरेको छ । विभिन्न विधामा नौ जना पत्रकार पुरस्कृत भएका हुन् । वर्ष पत्रकारिता पुरस्कार ललित बुढा र मधुवन बिसीलाई दिइएको छ । त्यस्तै, शान्ति र विकास पत्रकारिता पुरस्कार भानुभक्त खड्का, डम्बर आचार्य, देवीराम देवकोटा र चाँदनी कठायतले पाएका छन् । खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कार मानबहादुर वली र खिम बुढा तथा नन्दु गेलाङ्ग स्मृति पुरस्कारबाट गीता थापा पुरस्कृत भएकी छन् ।

प्रकाशित मितिः   २८ माघ २०७७, बुधबार ०९:४४