कर्णालीमा नौ हजारले लगाए खोप

प्रदेशका ११ हजारलाई लगाउने योजना भए पनि दुई हजार कम खोप लगाइएको छ ।

प्रदेशका ११ हजारलाई लगाउने योजना भए पनि दुई हजार कम खोप लगाइएको छ ।

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ । साढे नौ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पहिलो चरणमा प्रदेशमा नौ हजार चार सय २० जनालाई खोप लगाइएको हो । सरकारले पेसालाई प्राथमिकतामा राखेर खोप लगाउने आधार निर्धारण गरेको छ । शनिवारसम्म पहिलो चरणको खोप स्वास्थ्यकर्मीले लगाएका हुन् ।

कर्णाली प्रदेशलगायत देशभर कोरोनाविरुद्धको खोप लगाउन यही माघ १४ गतेदेखि सुरू गरिएको थियो । भारत सरकारले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप अनुदानमा उपलब्ध गराएको थियो । संघीय सरकारले कर्णालीका लागि खोपको २६ हजार डोज पठाएको थियो । कर्णालीमा कोरोना संक्रमण देखिएको नौ महिनापछि खोप उपलब्ध भएको हो ।

प्रदेशमा ११ हजार सात सय ८१ जनालाई खोप लगाउने योजना भए पनि झण्डै दुई हजार कम खोप लगाइएको छ । सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने व्यक्तिहरू, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका र सरसफाइमा संलग्न कर्मचारीहरू, वृद्धाश्रममा रहेका तथा मानव सेवा आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई पनि खोप दिइएको छ । निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक बसन्त श्रेष्ठका अनुसार सुर्खेतमा दुई हजार तीन सय ४०, दैलेखमा एक हजार आठ सय ४३, जुम्लामा एक हजार ४०, जाजरकोटमा ६ सय ७३, हुम्लामा चार सय ८५ र मुगुमा चार सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यस्तै, कालीकोटमा आठ सय, डोल्पामा तीन सय ३०, रुकुम–पश्चिममा आठ सय ५० र सल्यानमा एक हजार दुई जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पहिलो चरणमा लगाउने खोप सकिएकोले अब दोस्रो चरणका लागि तत्काल नै सेवाप्रदायक संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई खोप लगाउने कार्यक्रम आउने निर्देशनालयले जनाएको छ । पहिलो चरणमा खोप लगाएकाहरू पुनः दोस्रो पटक खोप लगाउनुपर्ने हुन्छ । पहिलो खोप दिएको करिब एक महिनाको अन्तरमा अर्को खोप लगाइने निर्देशनालयले जनाएको छ ।

अब दोस्रो चरणको खोप अभियानमा सेवाप्रदायक संस्था, गाउँ÷नगरका कर्मचारी तथा सेवाग्राहीको भिडभाड हुने कार्यालय र बैंकलगायतका संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई प्राथमिकताका आधारमा खोप लगाइने र यसका लागि संघीय सरकारले समय तोक्ने बताइएको छ । दोस्रो चरणमा ‘फ्रन्टलाइन’मा खटिने सुरक्षाकर्मी, यातायातकर्मी, हवाई यातायातमा कार्यरत कर्मचारी, बैंक, नापी, मालपोत, विद्युत, खानेपानी र सञ्चार क्षेत्रमा कार्यरत कर्मचारीलाई खोप लगाउने सूची सरकारले तयार गरेको छ ।

जोखिम उस्तै

समुदायमा अझै पनि कोरोना संक्रमणको जोखिम छ । सरकारले यसअघि प्रदेशका दुई स्थानमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेको थियो । समुदायमा संक्रमणको अवस्था एकिन गर्न एन्टिजेन विधि अपनाइएको हो । यसक्रममा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा करिब तीन हजार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले संघीय सरकारको समन्वयमा यी दुई पालिकाको संक्रमणको अवस्था एकिन गरेको हो । निर्देशनालयका किटजन्य रोग नियन्त्रक अधिकृत श्याम आचार्यले परीक्षणको क्रममा करिब दुई प्रतिशतलाई कोरोना संक्रमण देखिएको बताए । दुल्लूमा दुई हजार र वीरेन्द्रनगरमा एक हजार पाँच सय जनालाई एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । तीमध्ये दुई प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना संक्रमणको जोखिम अझै पनि कायमै रहेको परीक्षणबाट खुलेको हो । अहिले पनि समुदायमा कोरोनाको जोखिम उस्तै छ भन्ने देखिएको स्वास्थ्यकर्मीहरूले बताउँछन् ।

पछिल्लो समय कोरोनालाई सामान्य रूपमा लिएर स्वास्थ्य सुरक्षाका मापदण्ड तथा सावधानी अपनाउन छोडिएको छ । स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । केही समय यतादेखि लक्षण देखिएकाहरूलाई मात्रै परीक्षण गर्ने गरिएको छ । परीक्षणको दर घटेका कारण पनि संक्रमितको संख्या न्यून देखिएको छ ।

थपिए संक्रमित

कर्णालीमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शनिवार ३८ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । सुर्खेतका तीन, दैलेख, जुम्ला र हुम्लाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार पाँच सय २८ पुगेको छ ।

शनिवार नै १७ जना संक्रमणमुक्त भएका छन् । योसहित प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात हजार तीन सय १७ पुगेको छ । अहिलेसम्म प्रदेशमा ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सुर्खेतका १६, दैलेखका सात, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक/एक जना तथा अन्य प्रदेशका तीन जनाको कोरोनाका कारण ज्यान गएको हो । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या एक सय ८१ रहेको छ । कर्णालीमा हालसम्म ९७ हजार एक सय ९९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मितिः   २५ माघ २०७७, आईतवार ०९:३०