एक सय ९१ जना सक्रिय संक्रमित
कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या एक सय ९१ रहेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सोमवारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।
पछिल्लो समय कोरोना परीक्षणको दर घटेसँगै संक्रमितको संख्या पनि कम हुँदै आएको छ । सोमवार १३ जनामा परीक्षण गर्दा एक जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हुुम्लाका एक जनामा संक्रमण देखिएको जानकारी दिए । योसँगै प्रदेशमा कूल संक्रमितको संख्या सात हजार पाँच सय १४ पुगेको छ ।
यस्तै सोमवार तीन जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या सात हजार दुई सय ९३ पुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ । सुर्खेतका १६, दैलेखका सात, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक÷एक जना र अन्य प्रदेशका तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको महाशाखाले जनाएको छ ।
यसैबीच पहिलो चरणको प्राथमिकतामा राखिएकामध्ये ५० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा सरकारले अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कार्यमा संलग्न कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्ति र महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप लगाएको छ । सोमवारसम्म कर्णाली प्रदेशमा प्राथमिकतामा रहेका ५० प्रतिशतले खोप लगाइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
खोप लगाउनको संख्या पनि उत्साहजनक रहेको निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । माघ २३ गतेसम्म खोप लगाइसक्ने निर्देशनालयले जानकारी दिएको छ । कर्णाली प्रदेशमा पहिलो चरणमा ११ हजार सात सय ८१ जनालाई खोप लगाइने छ ।
प्रकाशित मितिः २० माघ २०७७, मंगलवार ०९:०३
साझा बिसौनी ।