दीर्घकालीन सोच
विगत केही वर्षदेखि सुर्खेत विमानस्थल विस्तारको चर्चा चल्दै आएको छ । अहिलेको धावनमार्ग साँघुरो हुँदा ठूला जहाज सञ्चालनमा आउन सकेका छैनन् । यसलाई विस्तार र स्तरोन्नति गर्नुपर्ने माग विगतदेखिकै हो । अर्कोतर्फ सानो उपत्यकामा भएको विमानस्थल विस्तार गर्नुभन्दा उपत्यकाबाहिर बनाउनुपर्नेमा जोड दिइएको थियो । जसअन्तर्गत पूर्वी सुर्खेतको रामघाट र छिन्चु क्षेत्रमा सर्भे पनि गरियो । सम्भाव्यता अध्ययन भयो । अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि भनेर केही वर्ष चर्चा पायो । प्राविधिक कारणले त्यहाँ उपयुक्त नहुने देखिए पनि अहिले पुनः सुर्खेत विमानस्थल विकास तथा विस्तारको प्रक्रिया अघि बढाउन खोजिएको छ । यसका लागि सरकारले प्रारम्भिक प्रक्रिया आरम्भ समेत गरिसकेको थियो । तर स्थानीयको विरोधपछि अहिले रोकिएको छ ।
अहिलेको विमानस्थल विस्तारका लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । जग्गा अधिग्रहण गर्दा ठूलो जनसंख्या प्रभावित हुन्छ । विद्यालयदेखि अन्य सामुदायिक संस्थाहरू विस्थापित हुनुपर्दछ । प्रभावित क्षेत्रमा मुआब्जाका लागि लगत संकलन थालिसकिएको अवस्थामा स्थानीयले विरोध जनाए । उनीहरूले दीर्घकालीन विकल्प खोजिनुपर्नेमा जोड दिएका छन् । विगतमा पनि आफ्नो थातथलो छोड्नुपरेको भन्दै उनीहरूले फेरि पनि त्यही वहानामा लखेट्न खोजिएको भन्दै चिन्ता प्रकट गरेका छन् । नागरिक भावना र सरकारको योजनाबीच तालमेल मिल्न सकेको छैन । जसले गर्दा विमानस्थल विस्तारको योजना बीचमै अलपत्र परेको छ ।
प्रभावित बासिन्दाले नागरिक संघर्ष समिति नै बनाएर विरोधमा उत्रिएको बेला सम्बन्धित स्थानीय सरकार पनि विमानस्थल विस्तारको विपक्षमा उभिएको छ । वीरेन्द्रनगर नगरपालिकाले हालको विमानस्थल विस्तार गरिनुभन्दा वैकल्पिक स्थानको खोजी गर्नुपर्ने निश्कर्ष निकालेको छ । नगरपालिकाले विमानस्थल दीर्घकालीन नहुने र बस्ती मात्रै मासिने भएकाले स्थानीयबाट गुनासो आएको भन्दै वैकल्पिक स्थानको खोजीका लागि ठाउँ हेर्न अनुरोध गरेको हो । यही माघ ३ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयमा लेखिएको छ, ‘विमानस्थलको विस्तारको सम्बन्धमा स्थानीयबाट विस्तार कार्य अघि नबढाउन अनुरोध भइ आएको सम्बन्धमा सो क्षेत्रमा विस्तारमा कठिनाइ देखिएकाले अन्य नयाँ वैकल्पिक स्थलमा विमानस्थलको खोजी गरी निर्माण गर्ने व्यवस्था मिलाउन प्रदेश सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छ ।’ विस्तार हुने क्षेत्रमा विद्यालय, क्याम्पसलगायत घना बस्ती भएकाले यसलाई नमासेर विकल्प खोज्नुपर्ने स्थानीयको माग छ । स्थानीयको मागलाई पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकाले पनि साथ दिने भएको हो ।
विमानस्थलको विकास र विस्तार अपरिहार्य छ । यो नागरिक हितकै लागि बनाइने पूर्वाधार हो । तर विकास गर्दा त्यसले नागरिक भावना समेट्छ कि समेट्दैन भन्ने पक्षलाई पनि ख्याल गर्नु जरुरी हुन्छ । अहिले सरकारले विस्तार गर्न खोजेको योजना अनुसार यो दीर्घकालीन विकल्प होइन । केही वर्षका लागि मात्रै हो । त्यसपछि अर्को विकल्पमा जानुपर्ने हुन्छ । अर्को विकल्पमा जानुनै छ भने अहिले नै दीर्घकालीन विकल्पकै पक्षमा रहेर योजना बनाउन जरुरी देखिन्छ ।
प्रकाशित मितिः १३ माघ २०७७, मंगलवार ०९:४८
साझा बिसौनी ।