कोरोना प्रभावले फेरियो शैक्षिक क्यालेण्डर

हिमाली जिल्लामा अब चैतमा वार्षिक परीक्षा, वैशाखदेखि नयाँ शैक्षिक सत्र

हिमाली जिल्लामा अब चैतमा वार्षिक परीक्षा, वैशाखदेखि नयाँ शैक्षिक सत्र

हिमाली जिल्लामा फागुनमा नयाँ शैक्षिक सत्र सुरु भएर मंसिरमा वार्षिक परीक्षा हुन्थ्यो । कोरोनाका कारण शैक्षिक गतिविधि प्रभावित भएपछि यसपटक मंसिरमा परीक्षा हुन सकेन । कोरोना महामारीका कारण देशभरका सबै विद्यालयको पठनपाठन झण्डै आठ महिना रोकिएको थियो । वैकल्पिक माध्यमबाटसमेत पठनपाठन सहज नभएका हिमाली जिल्लामा पठनपाठन थप प्रभावित भएको हो । यी जिल्लामा चालु शैक्षिक सत्रकै कोर्ष नसकिएकोले अझै एक÷दुई महिना पढाउनुपर्ने अवस्था छ । अब हिमाली जिल्लालाई पनि राष्ट्रिय शैक्षिक सत्रमा गाभ्ने गरी तयारी भएको सरोकारवाला बताउँछन् ।

कोरोना र चिसोका कारण बन्द भएका हिमाली जिल्लाका विद्यालय बल्ल खोल्ने तयारी हुँदैछ । कोरोनाका कारण गएको चैतदेखि बन्द भएका विद्यालयहरू बीचमा केही समय खुले पनि पुनः कोरोना संक्रमण तथा चिसोका कारण तिहारलगत्तै बन्द भएका थिए । कोरोना प्रभावले यो वर्ष हिमाली जिल्लाको शैक्षिक क्यालेण्डर नै परिवर्तन हुने भएको हो ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र जुम्लामा फागुनबाट नयाँ शैक्षिक सत्र प्रारम्भ भएर मंसिरमा सकिने शैक्षिक क्यालेण्डर छ । तर यसपाली कोरोनाले गर्दा फागुनको एक महिनाबाहेक विद्यालयमा पठनपाठन हुन सकेन । महामारीको प्रभाव हिमाली जिल्लाका करिब ६ सय विद्यालयका झण्डै एक लाख विद्यार्थीमा परेको छ । चैतदेखि बन्द भएका कतिपय विद्यालय अहिलेसम्म खुलेका छैनन् । विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिन हिमाली जिल्लामा चार महिना लम्ब्याएर भए पनि चैतमा वार्षिक परीक्षा लिने र शैक्षिक सत्र नै पछि सार्ने तयारी भइरहेको हो ।

हुम्लामा माघ १५ गतेदेखि विद्यालय सञ्चालनको तयारी थालिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुुख विष्णुबहादुर शाहीले माघ १५ गते विद्यालय खोल्ने तयारी भइरहेको जनाए । डोल्पामा भने फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी छ । शिक्षा विकास तथा समन्वय ईकाइ डोल्पाका प्रमुख सिंहराज डाँगीले जिल्लाका सबै विद्यालय अब फागुनबाट खुल्ने बताए । कोरोनाको जोखिमले पठनपाठन प्रभावित हुँदा शैक्षिक सत्रमा समेत असर परेको छ । नयाँ शैक्षिक सत्रको पढाइ हुने बेलामा अहिले अघिल्लो शैक्षिक सत्रको पढाइ हुने भएको छ ।

अब चैतमा परीक्षा गर्ने गरी विद्यालय सञ्चालनको तयारी गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ हुम्लाका प्रमुख शाहीले बताउँछन् । ‘अघिल्लो वर्ष एक/डेढ महिना मात्रै पढेपछि लकडाउनका कारण विद्यालय बन्द भए,’ उनले भने, ‘हिमाली जिल्लाका विद्यालयमा कोर्ष आधा पनि सकिएको छैन ।’ हुुम्लामा बीचमा विद्यालय खुले पनि शिक्षक र विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएपछि विद्यालय फेरि बन्द भएका थिए । ‘विद्यार्थीहरूले राम्रोसँग पढ्न नै पाएका छैनन् । अहिले जिल्लामा संक्रमित पनि भेटिएका छैनन् । अब चैतमा परीक्षा गर्ने गरी पुनः विद्यालय सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने ।

मुगुमा मुगुम कार्मारोङ गाउँपालिकाबाहेक सबै स्थानीय तहमा विद्यालय खुलिसकेका छन् । त्यहाँस्थित शिक्षा विकास तथा समन्वय ईकाइका अनुसार चिसो बिदा हुने १७ वटा विद्यालय पनि यतिबेला सञ्चालनमा आइसकेका छन् । मुगुम कार्मारोङ गाउँपालिकामा पनि अब विद्यालय खोल्ने तयारी भइरहेको बताइएको छ । मुगुमा पनि चैतमा वार्षिक परीक्षा गरी वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरू हुने भएको छ ।

प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले अब हिमाली जिल्लामा विस्तारै विद्यालय सञ्चालन गरेर पठपाठनलाई अघि बढाउने बताइन् । यस विषयमा शिक्षा विकास तथा समन्वय ईकाइ तथा स्थानीय तहसँग समन्वय भइसकेको उनको भनाइ छ । मुगु, डोल्पा र हुम्ला मात्र नभएर जुम्लालगायतका केही भागसमेत यो समयमा जाडो बिदा हुने भएकाले त्यहाँ पनि विद्यालय सञ्चालनको तयारी रहेको उनले बताइन् ।

कोरोना कहरकै बीच यतिबेला देशभरका अधिकांश विद्यालय सञ्चालनमा ल्याइएको छ । संक्रमण जोखिम भए पनि परिस्थिति हेरेर सुरक्षा सावधानीका मापदण्ड पालना गर्दै शैक्षिक संस्थामा पठनपाठन थालिएको हो । विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्न भने चुनौती छ । सीमित भौतिक पूर्वाधार र धेरै संख्यामा विद्यार्थी भएकाले भौतिक दूरीसमेत कायम गर्न विद्यालयहरूलाई कठिन हुने गरेको छ ।

प्रकाशित मितिः   ८ माघ २०७७, बिहीबार ०९:५३