सुधारिँदै वीरेन्द्रनगरका सडक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक सुधार–विस्तारको कामले तीव्रता पाएको छ । यहाँ अहिले तीनवटै तहका सरकारको लगानीमा साना–ठूला गरी झण्डै एक सय बढी सडक निर्माण र स्तरोन्नतिको काम भइरहेको हो । प्रदेशको पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा यतिबेला ३५ वटा सडकमा काम हुँदैछ । गत आर्थिक वर्ष र यो वर्ष सम्झौता भएका ती योजनाहरूको तीव्र गतिमा काम भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालय मातहत सञ्चालित क्रमागत बाहेकका सडक योजनाको काम यसैवर्ष सकिनेछ ।

राजधानीमा हाल वीरेन्द्रनगर नगरपालिका र संघीय सरकारका ७० भन्दा बढी सडकका योजनासमेत चालु आर्थिक वर्षमा सञ्चालित छन् । ती योजना निर्माणका लागि दुईवटै तहका सरकारले गरी झण्डै ५० करोड बजेट विनियोजन गरेका छन् । कतिपय सडकहरूमा काम भइरहेको र बाँकी योजनाको पनि टेण्डर भइसकेकाले आगामी असार मसान्तसम्ममा काम सम्पन्न हुने नगर प्रमुख देवकुमार सुवेदीले बताए । ‘रिङ्गरोडलगायत वीरेन्द्रनगरका अधिकांश सडक विकासको काम धमाधम चलिरहेको,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्रै काम सकिनेछ ।’ चक्रपथ सडक क्रमागत योजना हो । कूल ३४ किलोमिटरमध्ये हालसम्म १३ किलोमिटर निर्माणको काम सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षमा राजधानीका सडक पूर्वाधार विकासमा लागि प्रदेश सरकारले पनि प्राथमिकता दिएको छ । प्रदेशले सडक फराकिला बनाउन ठूलो रकम विनियोजन गरेको हो । प्रदेश सरकारको बजेटमा हाल वीरेन्द्रनगर–६ हटियालाइनदेखि इत्रामको शिवालयचोक तथा जिल्ला प्रशासन, टेलिकमलाइन लगायतका क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ । उक्त योजनाको काम श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ । दुई वटा प्याकेजमा सडक तथा नाली निर्माणको काम भइरहेको हो । एउटा सात करोड २९ लाख र अर्को नौ करोड २५ लाखमा सम्झौता भइ कामको जिम्मा लिएका प्रालिका प्रबन्धक पदमबहादुर खड्काले जनाए । ‘कोरोना महामारीले केही समय काममा बाधा पुग्यो,’ उनले भने, ‘आगामी असार मसान्तसम्ममा सक्ने योजना छ ।’ उनले आफ्नो निर्माण कम्पनीको जिम्मामा रहेका सडकको ८५ प्रतिशत काम सकिएको बताए । श्याम एण्ड शंकर कन्स्ट्रक्सनले हाल ती सडकमा नाली निर्माणको काम गरिरहेको छ । चिसो मौसम सकिन बित्तिकै कालोपत्रेको काम सुरू गरिने प्रबन्धक खड्काले बताए ।

त्यस्तै, मजदुर कन्ट्रक्सन प्रालि सुर्खेतले वीरेन्द्रनगरका ६ वटा स्थानमा नाली निर्माणको काम गरिहेको छ । उक्त निर्माण कम्पनीले लिएको ठेक्कामध्येको कालुङ्गचोक क्षेत्रको काम सम्पन्न भएको छ । हाल पाँच वटा सडकमा काम चलिरहेको कम्पनीले जनाएको छ । पाँच वटा सडक को नाला निर्माणका लागि दुई करोड ७४ लाख बजेट छ ।

प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकहरू जीर्ण र साँघुरा भएपछि तीन तहकै सरकारले सडक सुधार–विस्तारको कामलाई प्राथमिकतामा राखेका हुन् । राजधानीका सडक अव्यवस्थित हुँदा सवारी साधन तथा पैदल यात्रुहरूलाई सास्ती हुने गरेको छ । पूर्वाधार विकास निर्देशनालय इन्जिनियर सूर्यबहादुर शाहीले निर्देशनालय अन्तर्गतका अधिकांश सडकको काम आगामी असार मसान्तसम्म सक्नेगरी तीव्रताका साथ काम भइरहेको बताए । उनले यो वर्ष कोरोनाका कारण काममा केही ढिलाइ भए पनि छिट्टै सक्नेगरी ठेकेदार कम्पनीहरूले काम गरिरहेको बताए ।

प्रकाशित मितिः   २ माघ २०७७, शुक्रबार ११:५३