लेखक भेट्दा पाठक दङ्ग

साझा बिसौनी संवाददाता
सुर्खेत, ५ चैत ।
गजलकार पहल असिम थापालाई मनपर्ने उपन्यासहरूमध्ये एक हो, ब्रजेशको यायावर । उक्त उपन्यास पढेदेखि नै लेखकको फ्यान बनेका उनी शुक्रवार ब्रजेशलाई सुर्खेतमा नै भेट्दा खुशीले फुरूङ्ग थिए । उनले ब्रजेशको नयाँ उपन्यास जुनेली लेखकको हस्ताक्षरसहित पाउँदा अत्यन्त खुशी मिलेको प्रतिक्रिया दिए । 
कवि सरस्वती पन्त पनि ब्रजेशबाट उनको हस्ताक्षरसहित नयाँ उपन्यास जुनेली पाउँदा हर्षित थिइन् । लेखकसँग प्रत्यक्ष भलाकुसारी गर्न र उनीसँगै बसेर तस्विर खिच्न पाउँदा दङ्ग परेकी उनी जुनेली एक रातमै पढेर सक्नेँ र आफ्नो प्रतिक्रिया दिने बताउँदै थिइन्, लेखकसँग ।  
पहल र सरस्वती मात्र होइन शुक्रवार सुर्खेतमै लेखक ब्रजेशलाई भेट्न पाउँदा यहाँका पाठकहरू प्रशन्न थिए । उनीहरूले लेखकसँग आफ्ना प्रतिक्रिया व्यक्त गरेका थिए भने लेखक ब्रजेशले पनि सुर्खेतमै आएर पाठकहरूसँग भेट्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । यसरी लेखक र पाठकसँग प्रत्यक्ष भेटघाटको अवसर सिर्जना गरिदिएको थियो, बुकहिल पब्लिकेशनसँगको सहकार्यमा मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतले ।
अन्तरक्रियामा लेखक ब्रजेशले पाठकहरूको माग र सुझावकै कारण जुनेली लेखेको बताए । ‘मेरो पहिलो उपन्यास यायावर पढिसकेपछि धेरै पाठकहरूले त्यसभित्रको पात्र जुनेली अन्यायमा परेको र त्यसलाई अर्को पुस्तकमा समेट्न सुझाव दिनुभयो’ उनले भने, ‘त्यसपछि यायावरभित्रकै एक पात्र जुनेलीलाई नै प्रमुख पात्र बनाएर यो पुस्तक लेखेको हुँ ।’ उनले पाठक प्रतिक्रियाबाट आफू सन्तुष्ट भएको बताए । ‘प्रत्यक्ष भेटघाट तथा सामाजिक सञ्जालमार्फत् पाठकहरूले जुनेली पढेर जुन प्रतिक्रिया दिइरहनुभएको छ यसले म खुशी छु’ उनले भने । पुस्तकबारे सकारात्मक र नकारात्मक दुवै खालका प्रतिक्रिया आएको भन्दै ब्रजेशले अधिकांश पाठकहरूले भने पुस्तकको कथा र यसको शैली मन पराएको प्रतिक्रिया दिएको जिकिर गरे । 
कार्यक्रममा जुनेली प्रकाशन संस्था बुकहिल पब्लिकेशनका सञ्चालक भुपेन्द्र खड्काले जुनेलीलाई पाठकहरूले अत्यधिक माया गरिदिनुभएकाले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिए । उनले पुस्तकबारे पाठकहरूका प्रतिक्रिया प्रत्यक्ष रूपमा बुझ्नका लागि पुस्तक यात्रा गरिएको भन्दै पुस्तक पढेर आफूलाई लागेको प्रतिक्रिया दिन आग्रह गरे । तीन वर्षअघि आफ्नो पहिलो उपन्यास यायावर प्रकाशन गरेका ब्रजेशको जुनेली दोस्रो उपन्यास हो । 
प्रकाशित मितिः   ६ चैत्र २०७२, शनिबार ११:०७