निगरानी

संसद् मा को कति बोले ?

प्रदेशसभाका तीन वर्षः भाग–दुई


मुलुकले संघीय स्वरूपको शासन प्रणाली अवलम्बन गरेसँगै प्रदेश संरचनाहरू बने । प्रदेशको आफ्नै कार्यपालिका छ । छुट्टै व्यवस्थापिका पनि छ । संघीय सरकारसँग र संघीय संसद्ले निर्माण गर्ने ऐन–कानुनसँग नबाँझिने गरी आफ्ना कानुन प्रदेशले आफै निर्माण गर्न सक्दछ । प्रदेशसभाको जिम्मेवारी यही हो ।

प्रदेशसभा स्थापनाको तीन वर्ष पुग्नै लागेको छ । यो अवधिमा सभाले गरेका कामकारबाहीको विभिन्न कोणबाट समीक्षा गर्नु जरुरी छ । त्यतिमात्र होइन उक्त संसद्मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि सांसदहरूको भूमिका र जिम्मेवारीको निगरानी गर्नु उत्तिकै अपरिहार्य छ । किनभने निर्वाचनमार्फत जनतालाई विभिन्न आश्वासन बाँडेर संसद्मा पुगेका प्रतिनिधिहरूले प्रतिबद्धता अनुसारको जिम्मेवारी निर्वाह गरिरहेका छन् या छैनन् भन्ने कुराको जानकारी आम नागरिकलाई हुनुपर्दछ । यही ध्येयका साथ आज हामीले तीन वर्षे अवधिमा कर्णाली प्रदेशसभाका सदस्यहरूले संसदमा आफूलाई कति मुखरित गरे ? या जनताका कुरा कति सम्बोधन गरे र सरकारलाई सचेत गराए भन्ने विषयमा यो आलेख तयार पारेका छौं ।

प्रदेशसभामा हरेक वर्ष दुई वटा अधिवेशन हुन्छन् । एउटा, वर्षे अधिवेशन र अर्को हिउँदे । ती अधिवेशनमा विभिन्न बैठकहरू सम्पन्न हुन्छन् । संसद्का हरेक बैठक महŒवपूर्ण हुन्छन् । जहाँ सांसदहरूको उपस्थितिका साथसाथै सक्रिय सहभागिता हुनुपर्दछ । चाहे त्यो कानुन निर्माण प्रक्रियाका लागि हुने बैठक होस् या जनताका समस्या सरकारसमक्ष राख्नका लागि नै किन नहोस् । यी अवसरहरूको सदुपयोग गर्नसक्ने प्रतिनिधि नै जनताको असल प्रतिनिधि हुन् । त्यसैले प्रदेशसभाका बैठकमा हरेक सदस्यको उपस्थिति र उनीहरूले बोलेका कुराको महŒव पनि उत्तिकै रहेको हुन्छ । कतिपय सदस्यहरू बैठकमा आफ्नो अर्थपूर्ण उपस्थिति देखाएर जनतामाझ पनि लोकप्रिय भइरहेका हुन्छन् भने कतिपय सदस्यहरू निष्क्रिय भइरहेका समेत हुन्छन् । कर्णाली प्रदेशसभाका सदस्यहरूको बैठकमा सहभागिता र उनीहरूले आफ्ना कुरा राख्न बोलेको तथ्यांक हेर्ने हो भने पनि दृष्य यस्तै देखिन्छ ।

कर्णाली प्रदेशसभाको यो तीन वर्षे अवधिमा जम्मा एक सय ४५ वटा बैठक सम्पन्न भइसकेका छन् । सभामा ४० जना सदस्य छन् । जसमध्ये मुख्यमन्त्रीसहित ६ जना मन्त्री छन् भने प्रदेशसभाकै सभामुख र उप–सभामुख गरेर दुई जना पदाधिकारी छन् ।

प्रदेश सभाको ६ वटा अधिवेशनमा सम्पन्न भएका यी बैठकहरूमा मन्त्री, सभामुख र उपसभामुखबाहेक अन्य ३२ जना सांसदहरूले कतिपटक बोले भन्ने विषयमा केन्द्रित रहेर यो विश्लेषण तयार पारिएको छ ।

सबैभन्दा बढी पटक बोल्ने पाँच सांसद

१. अमरबहादुर थापा

प्रदेशसभाका एक सय ४५ वटा बैठकमध्ये सबैभन्दा बढी पटक बोल्ने सांसद हुन् अमरबहादुर थापा । दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) बाट कर्णाली प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद थापाले जम्मा बैठकमध्ये ५४ वटा बैठकमा आफ्ना धारणा राखेका छन् । चौथो अधिवेशनसम्मका एक सय १० वटा बैठकमा ३८ पटक बोलेका उनी पाँचौं अधिवेशनका सात वटा बैठकमा तीन पटक र छैटौं अधिवेशनका २९ वटा बैठकमा १३ पटक बोलेका छन् । कुल एक सय ४५ वैठकमध्ये प्रदेशसभा सदस्य थापा एक सय ३० बैठकमा उपस्थित भएका थिए ।

२. ठम्मरबहादुर विष्ट

सुर्खेतबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद ठम्मरबहादुर विष्ट सबैभन्दा बढी पटक बोल्ने सांसदको सूचीमा दोस्रो स्थानमा छन् । उनले ४९ पटक बोलेका छन् । सुरुका चारवटा अधिवेशनका एक सय १० वटा बैठकमा ३१ पटक बोलेका उनी पाँचौं अधिवेशनका सात वटा बैठकमा ६ पटक बोलेका छन् । त्यस्तै छैटौं अधिवेशनका २९ बैठकमा उनी १२ पटक बोलेका छन् । कुल एक सय ४५ बैठकमध्ये प्रदेशसभा सदस्य विष्ट एक सय २४ बैठकमा उपस्थित भएका छन् ।

३. जीवनबहादुर शाही

कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशसभाका हालसम्मका अधिवेशनका बैठकहरूमध्ये सबैभन्दा बढी बोल्ने सांसदको सूचीमा तेस्रो स्थानमा छन् । सांसद शाही हालसम्म ४८ पटक संसद्मा बोलेका छन् । प्रदेशसभा नियमावली अनुसार संसद्को प्रमुख प्रतिपक्षी दलको नेतालाई बोल्नका लागि अवसर अन्य सांसदभन्दा बढी हुन्छ । यसर्थ पनि सांसद शाहीको यो नतिजा स्वाभाविक रूपमा लिन सकिन्छ । प्रमुख प्रतिपक्षीदलको नेताको नाताले संसद् बैठकमा सरकारका कामकारबाहीप्रति निगरानी राख्ने र खबरदारी गर्ने जिम्मेवारी शाहीको हो । शाही हालसम्मको एक सय ४५ वटा संसद् बैठकमध्ये एक सय १४ वटा बैठकमा मात्र उपस्थित भएका थिए ।

सबैभन्दा थोरै पटक बोल्ने पा“च सांसद

प्रदेशसभाका एक सय ४५ वटा बैठकमा सबैभन्दा कम बोल्ने सांसद सुर्खेत जिल्ला प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित खड्कबहादुर खत्री हुन् । पूर्वमन्त्री खत्री पाँचौं अधिवेशनका सात वटा बैठकमा एक पटक र छैटौं अधिवेशनका २९ वटा बैठकमा १० पटक बोलेका छन् । पहिले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका उनीविरुद्ध अदालतामा मुद्दा परेपछि मन्त्रीबाट हटेका थिए । त्यसभन्दा अघिका अधिवेशनमा केही समय मन्त्री र अन्य समय प्रदेशबाहिर भएकाले उनी सबैभन्दा कम पटक बोल्नु स्वाभाविक हो ।
त्यस्तै डोल्पाबाट प्रदेशसभा सदस्यमा निर्वाचित वीरबहादुर शाही जम्मा २१ पटक बोलेका छन् । समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी प्रदेशसभा सदस्य बद्मी क्वारी बोहोरा २२ पटक बोलेकी छन् । जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका प्रदेशसभा सदस्य करवीर शाही र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित झोवा विक समान २३ पटक बोलेको तथ्यांकले देखाउँछ ।

अन्य सांसद को कति पटक बोले ?

प्रदेशसभा सदस्य पद्मा खड्का र शोशीला शाही प्रदेशसभाको बैठकमा धेरै पटक बोल्नेको सूचीमा चौथो र पाँचौं स्थानमा छन् । उनीहरू दुवैजना समान ४७ पटक बैठकमा बोलेका छन् । उनीहरू दुवै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्यहरू हुन् । त्यस्तै जुम्लाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य पदमबहादुर रोकाया ४५ पटक बोलेको छन् भने दैलेख प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट प्रत्यक्ष निर्वाचित भएका धर्मराज रेग्मी ४४ पटक बोलेका छन् । सांसद रेग्मी छैटौं अधिवेशनका २९ वटा बैठकमा १३ पटक बोलेका छन् ।

सुर्खेत प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य विन्दमान विष्ट र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाही समान ४० पटक बोेलेका छन् । प्रदेशसभा सदस्य सीताकुमारी नेपाली ३९ पटक, प्रदेशसभाको हालसम्मको बैठकमा सबैभन्दा धेरै पटक उपस्थित भएकी प्रदेशसभा सदस्य मीनासिं रखाल ३८ पटक बोलेको देखिन्छ । सांसद रखाल प्रदेशसभाका एक सय ४५ बैठकमध्ये सबैभन्दा बढीपटक अर्थात् एक सय ४२ बैठकमा उपस्थित भएकी थिइन् ।

हाल अर्थ तथा प्राकृतिक श्रोत समितिको अध्यक्ष पनि रहेका जाजरकोटबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य सांसद गणेशप्रसाद सिंह ३४ पटक प्रदेशसभा बैठकमा बोलेका छन् भने कौशिलावती खत्री र मुगुबाट प्रत्यक्ष निर्वाचित चन्द्रबहादुर शाही समान ३४ पटक, कालिकोटबाट प्रत्यक्ष निर्वाचित कुर्मराज शाही र सल्यानबाट प्रत्यक्ष निर्वाचित गुलावजंग शाह समान ३३ पटक, देवी वली र यज्ञबहादुर बीसी समान ३२ पटक र रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित गोपाल शर्मा ३१ पटक बोलेको प्रदेशससभा सचिवालयको तथ्यांकले देखाउँछ ।

त्यसैगरी रुकुमपश्चिमबाटै प्रत्यक्ष निर्वाचित भएका प्रदेशसभा सदस्य रातो कामी ३० पटक, सार्वजनिक लेखा समितिका सभापति समेत रहेका दिनबन्धु श्रेष्ठ २९ पटक, अमृता शाही २८ पटक, कृष्णा शाह २८ पटक र विधायन समितिका सभापति समेत रहेका मुगुबाट प्रत्यक्ष निर्वाचित दानसिहं परियार २७ पटक बोलेका छन् । नेकपाका प्रभावशाली नेता एवं सुर्खेत निर्वान क्षेत्र २(क) बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कंडेल २६ पटक, राजु नेपाली २५ पटक, सुशीलकुमार थापा २४ पटक बोलेका छन् ।

तथ्यांक हेर्दा प्रदेशसभा सदस्यहरूले संसद्मा धेरै बोल्नेमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरू रहेको देखिन्छ । सबैभन्दा धेरै पटक बोल्ने सात जनामध्ये पाँच जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । त्यस्तै मीनासिं रखाल, पद्मा खड्का, शोशीला शाहीलगायतका प्रदेशसभा सदस्यहरू संसद्मा उपस्थिति पनि धेरै हुने र धेरै बोल्ने समानुपातिक सांसदहरू हुन् ।

प्रकाशित मितिः   १६ मंसिर २०७७, मंगलवार ०६:००