१५ शैयाको अस्पताल बनाइँदै

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर–९ मा १५ शैया क्षमताको अस्पताल बनाइने भएको छ । अस्पताल निर्माणका लागि शुक्रवार शिलान्यास गरिएको छ । संघीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत यहाँ पनि अस्पताल निर्माणकोे काम थालिएको हो ।

अस्पताल भवनको शिलान्यास गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन पनि संघीय सरकारले नै गर्ने बताए । वीरेन्द्रनगर नगरपालिकाका अनुसार अस्पताल निर्माणका १८ करोड रूपैयाँ खर्च हुनेछ । बहुवर्षीय टेण्डरका आधारमा जतिसक्दो चाँडो अस्पताल निर्माण कार्य सम्पन्न हुने नगरपालिकाले जनाएको छ । बढ्दो बिरामीको चापलाई सजिलै व्यवस्थापन गर्न र विशेषज्ञ सेवा प्रवाह गर्न १५ शैयाको अस्पतालले थप सहयोग पुग्ने अपेक्षा गरिएको नगर उप–प्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार कटकुवा अस्पताल निर्माणको काम पनि सम्पन्न भएको छ । उक्त अस्पतालको जनशक्ति तथा उपकरण व्यवस्थापनको काम भइरहेकाले छिट्टै सञ्चालनमा ल्याइने उप–प्रमुख ढकाल बताउँछिन् ।

यसैबीच, लाटीकोइलीसहित शुक्रवार नै सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका अन्य तीन स्थानमा पनि अस्पताल भवनको शिलान्यास भइरहेको छ । बराहताल गाउँपालिका–५ बड्डिचौर, चौकुने गाउँपालिका–४ बिजौरा र पञ्चपुरी नगरपालिका–२ सालकोटमा १५ शैयाका अस्पताल बनाउन लागिएको हो । बड्डिचौरमा शुक्रवार नै शिलान्यास गरिएको छ भने चौकुनेमा आज (शनिवार) र पञ्चपुरीमा भोलि ‐आइतवार) अस्पताल भवनको शिलान्यास गरिने बताइएको छ ।

प्रकाशित मितिः   १३ मंसिर २०७७, शनिबार ०६:०६