जुम्लालाई विशेषज्ञ डाक्टर पढाउने अनुमति

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले स्वास्थ्य शिक्षा क्षेत्रको स्नातकोत्तर कक्षा सञ्चालनको अनुमति पाएको छ । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी जनरल प्राटिक्स, एमडी एनेष्थेसिया, एमडी पेड्रियाटिक्स विधामा पठन–पाठन गराउने स्वीकृति दिएको हो ।

गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्रीबाट प्रमाणित भएको प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डा. निरेश थापाले जनाए । प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार आयोगको फूल हाउस बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडीएमएस पाँच सीट अध्यापन गराउने पक्का भएको हो ।

अब कर्णालीले एमबीबीएस पढाउने स्वीकृतसमेत पाउने विषयमा आशा पलाएको उनको भनाइ छ । बुधवार सो विषयमा कर्णाली प्रतिष्ठानलाई पत्र प्राप्त भइसकेको शिक्षाध्यक्ष
थापाले जानकारी दिए ।

प्रकाशित मितिः   ११ भाद्र २०७७, बिहीबार ०६:०१