सरकारी कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द

सुर्खेत: सुर्खेतका सरकारी कार्यालयहरूले अत्यावश्यकबाहेकका सेवा आउँदो आइतवारदेखि बन्द गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय लगायतका जिल्लास्थित सेवाग्राहीको अत्याधिक भीड लाग्ने कार्यालयहरूले सेवा प्रवाह बन्द गर्ने भएका हुन् । प्रशासनद्वारा बिहीवार जारी सूचनामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेकाले अनिश्चित समयका लागि सेवा बन्द रहने उल्लेख छ । जिल्ला प्रशासन, मालपोत र यातायात कार्यालयले साउन २५ देखि अत्यावश्यक र आन्तरिक सेवा मात्रै सञ्चालन गर्नेछन् ।

प्रशासन कार्यालयले अत्यावश्यकबाहेक नागरिकता, राहदानी, संघ–संस्था दर्ता, नविकरण र अन्य सिफारिस समेतको सेवा प्रवाह बन्द गर्ने भनेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदम लामिछानेले सेवाग्राहीको भिडले संक्रमणको जोखिम बढेको भन्दै अर्को निर्णय नहुँदासम्मका लागि सेवा प्रवाह बन्द गरिएको बताए । प्रशासनले सेवाग्राहीको अत्याधिक भीडभाड हुने मालपोत र यातायात कार्यालयलाई पनि जरुरी र आन्तरिकबाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न पत्राचार गरेको छ ।

यसअघि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले मानिसहरू जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी सेमिनार, तालिम, जात्रा र महोत्सवजस्ता गतिविधि गर्न रोक लगाइसकेको छ । सरकारी कार्यालयमा हुने सेवाग्राहीको अत्याधिक भिडले जोखिम बढ्ने देखिएकाले केही समयका लागि सेवा प्रवाह नै बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः   २३ श्रावण २०७७, शुक्रबार ०६:००