एक सय ९७ जना संक्रमित आइसोलेसनमा

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) का संक्रमित एक सय ९७ जना आइसोलेसनमा छन् । उनीहरूको प्रदेशका विभिन्न जिल्लामा रहेका आइसोलोसन सेन्टर तथा अस्पतालहरूमा उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा एक सय २७ जना, सुर्खेतमा ३६ जना, जाजरकोट र कालीकोटमा १२/१२ जना आइसोलेसनमा छन् ।

त्यस्तै, सल्यानमा नौ र मुगुमा एक जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । प्रदेशका चार जिल्ला भने संक्रमणमुक्त भएका छन् । हुम्ला, डोल्पा, रुकुम–पश्चिम र जुम्ला संक्रमणमुक्त भएका हुन् । यी जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमित छैनन् ।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेशभर संक्रमण देखिएका संक्रमितमध्ये केही चिकित्सकहरूको निगरानीमा होम आइसोलेसनमा छन् भने कतिपय अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत छन् । संक्रमितहरूमा कोभिडको गम्भीर लक्षण भने देखिएको छैन । अधिकांश संक्रमितमा सामान्य लक्षणहरू मात्र देखिने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा कोरोनाका सक्रिय संक्रमित दुई सय ११ जना छन् । हालसम्म एक हजार नौ सय ३९ जनामा संक्रमण देखिएको छ ।

तीमध्ये एक हजार सात सय २२ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा ‐आइतवार) भने प्रदेशमा नयाँ संक्रमित थपिएका छैनन् । आइतवार प्रदेशका विभिन्न प्रयोगशालामा गरी दुई सय नौ जनाको आरटी–पीसीआर परीक्षण भएको थियो । ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ । १४ हजार ६ सय तीन जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७७, सोमबार ०९:०२