संक्रमितको संख्या १८ सय नाघ्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार आठ सय नाघेको छ । बिहीवार प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको आरटी–पीसीआर परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार आठ सय १३ पुगेको हो ।

बिहीवार कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा २४ जना नयाँ संक्रमित भेटिएका छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिकाका तीन जना, चौकुने गाउँपालिकाका दुई जना र सल्यानको छत्रेश्वरी गाउँपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै, दैलेखको आठबीस नगरपालिकाका १२, महाबु गाउँपालिकाका ११ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार हालसम्म कर्णालीमा एक हजार पाँच सय ५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई सय ५५ जना सक्रिय संक्रमित छन् । ६ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ९ श्रावण २०७७, शुक्रबार ०६:०३