झस्काउने तथ्याङ्क

पछिल्ला केही वर्षयता सम्बन्ध विच्छेदको संख्यामा बढोत्तरी आएको छ । नेपाली समाजमा सम्बन्ध विच्छेद हुनु सामान्यजस्तै मान्न थालिएको छ । साठीकै दशकसम्म पनि अदालतमा सम्बन्ध विच्छेदका एकाध मुद्दा मात्रै दर्ता हुने गर्थे । तर अहिले अदालतमा आउने अधिकांश मुद्दा विच्छेदकै हुन्छन् । यो क्रम बढ्दै गएको अदालतहरूका अभिलेखबाट पनि पुष्टि हुन्छ । सुर्खेतमा पनि सम्बन्ध विच्छेदले भयावह रूप लिएको छ । गएको आर्थिक वर्ष २०७६÷७७ को जेठ मसान्तसम्म जिल्ला अदालत सुर्खेतमा दर्ता भएका कूल मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । अदालतमा परेका एक हजार ६ सय नौ मुद्दामध्ये तीन सय २७ मुद्दा विच्छेदका थिए । सम्बन्ध विच्छेदको अवस्था कति विकराल बन्दै गएको छ भन्ने जिल्ला अदालत सुर्खेतको यो तथ्याङ्कले पुष्टि गर्छ । यसले देशभरको अवस्था पनि दर्शाउँछ । अझैं अधिकांश घटना गाउँघरमै मिलाइन्छ । मिलापत्रबाट गाउँमा टुंग्याउन नसके पछि मात्र मुद्दा अदालतसम्म आउने हुन् । भद्र भलाद्मीको रोहवरमा गाउँघरमै हुने सम्बन्ध विच्छेदको संख्या यो भन्दा पनि भयावह छ भन्न सकिन्छ । यसरी मिलाउन नसकेर प्रहरी हुँदै अदालतसम्म आउने मुद्दा गाउँमा हुने सम्बन्ध विच्छेदको तुलनामा निकै थोरै हुन् ।

सम्बन्ध विच्छेदका घटना बढ्नुमा कुनै एउटा मात्र कारण भने छैन । खासगरी श्रीमान्–श्रीमतीबीच विश्वासको वातावरण बन्न नसक्दा विच्छेदको स्थिति आउने हो । मानिसहरूमा बढ्दो चेतनाको स्तरले अन्याय नसहने र स्वतन्त्रता खोज्ने क्रम पनि बढ्दो छ । जुन स्वयम् व्यक्ति र समाज दुवैका लागि सकारात्मक पक्ष हो । तर, कतिपय सामान्य समझदारीमै हल गर्न सकिने समस्या पनि अदालतसम्म पुगेर परिवारै विखण्ड हुने अवस्थामा आउनु भने पक्कै राम्रो होइन । यसले व्यक्ति, परिवार र समाज कसैको हित गर्दैन । पारिवारिक मनमुटावका कारण पनि विच्छेद जस्तो अप्रिय निर्णयमा पुग्ने गरेका घटनाका प्रशस्त उदाहरण छन् । सामान्य पारिवारिक खटपटको व्यवस्थापन गर्न नसक्दा सम्बन्ध विच्छेदकै स्थितिमा पुग्ने गरेको पाइन्छ ।

श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेदले परिवारमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ । महिला जागरण तथा सशक्तीकरणका कारण सम्बन्ध विच्छेदको घटना बढ्दै गएको जानकारहरू बताउँछन् । यद्यपि अहिले सम्बन्ध विच्छेद गर्न चाहने पुरुषको संख्या पनि उत्तिकै छ । पारिवारिक खटपट भए पनि यसअघि सम्बन्ध विच्छेदमा महिलाहरू मात्रै अग्रसर हुन्थे । पछिल्लो समयमा पुरुषहरूले पनि सम्बन्ध विच्छेदका लागि धमाधम उजुरी दिन थालेका छन् । कानुनले प्रक्रियामा सहज बनाएपछि पत्नीपीडित पुरुषहरू पनि सम्बन्ध विच्छेदमा अग्रसर देखिने गरेका हुन् । सम्बन्ध विच्छेद मात्र समस्याको समाधान पक्कै होइन । सँगसँगै जिउने संकल्प गरे विवाह बन्धनमा बाँधिएका जोडीहरू झिना मसिना कारणले नै सम्बन्ध विच्छेदको बाटोसम्म पुग्नु कदापि राम्रो होइन । त्यसैले आवेगमा आएर निर्णय गर्नुभन्दा सकभर सुझबुझ र समझदारीका साथ समस्या निराकरण गर्नतर्फ लाग्नु नै बढी बुद्धिमानी ठहरिन्छ ।

प्रकाशित मितिः   ८ श्रावण २०७७, बिहीबार ०६:०८