कांग्रेसको कार्यसमिति बैठक बसाल्न माग

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पदाधिकारी तथा सदस्यहरूले कार्यसमितिको बैठक बसाल्न माग गरेका छन् । उनीहरूले समसामयिक विषयमा छलफलका लागि बैठक आह्वान गर्न माग गरेका हुन् । कोरोना महामारीको सन्दर्भमा जिल्ला कार्यसमितिको तर्फबाट भएका र गर्नु पर्ने गतिविधि, प्रदेश सरकारका गतिविधिमाथि निगरानी, पार्टीको जिल्ला स्तरीय समायोजन लगायतका विषयमा जानकारी दिन तथा छलफल गर्न पदाधिकारीहरूले बैठक आह्वानको माग गरिएको सदस्यहरूले जनाएका छन् ।

जिल्ला कार्यसमिति सचिवसहित नौ जना सदस्य, दुई जना पदेन सदस्यले बैठक माग गर्दै बुधवार सभापतिलाई पत्र बुझाएका हुन् । महामारी रोकथाम, प्रदेश सरकारका गतिविधमाथि निगरानीलगायतका विषयमा पार्टीको तर्फबाट हुनु पर्ने संस्थागत स्वामित्वको सवालमा बैठक बसी समीक्षा गर्न उनीहरूको माग छ । पार्टीको १४औं अधिवेशनको मिति तोकिएसँगै पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार जिल्ल्लाको समायोजनसहित क्रियाशील सदस्यता प्राप्त गर्ने गरी केन्द्रमा जानु पर्ने भएका क्रियाकलाप, सदस्यता नवीकरण तथा वितरणका विषयमा पनि बैठक बसी समितिलाई जानकारी गराउन माग गरिएको छ ।

पार्टीको निर्देशन अनुसार अन्य दल त्याग गरी कांग्रेसमा प्रवेश गरेका व्यक्तिहरूको विवरण केन्द्रमा पठाउने विषयमा जिल्लाको नेतृत्वबाट बेवास्ता भएको भन्दै उनीहरूले यसबारेमा जिल्ला कार्यसमितिको बैठक बसी कार्यान्वयन गर्ने निर्णय गर्न सभापतिलाई ध्यानाकर्षण गराएका छन् ।

जिल्ला कार्यसमिति सचिव टोपबहादुर रावतसहित सदस्यहरू रामबहादुर सिंह, गोविन्द कोइराला, मानबहादुर बुढा, वीरेन्द्र रावत, बागवीर दमाई, निर्मला शाही, रूपेन्द्र यादव, भगे कामी, पूर्णबहादुर राना, पदेन सदस्यहरू खड्ग बहादुर पोखरेल र लालवीर भण्डारीले संयुक्त रूपमा बैठकको माग गर्दै सभापतिलाई पत्र बुझाएका हुन् ।

प्रकाशित मितिः   २५ असार २०७७, बिहीबार ०८:२८