कांग्रेसद्धारा प्रदेशसभा बैठक बहिष्कार

सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको आजको बैठक बहिष्कार गरेको छ । बजेट अधिवेशनको आज २३ औं बैठक चलिरहेको छ । तर कांग्रेसका कुनै पनि सदस्य सभामा उपस्थिति भएका छैनन् ।

बजेटमाथि असन्तुष्टि जनाउँदै कांग्रेसले गत असार १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । १० गतेको बैठकमा प्रतिपक्षी सांसदहरु सुरुमै उठेर बैठक सञ्चालन हुन दिएका थिएनन् । त्यसपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि स्थगित गरेको प्रदेशसभाको बैठक सहमति जुट्न नसकेपछि असार ११ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । ११ गते पनि बैठक बस्न नसकेपछि असार १५ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरियो ।

कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि फेरि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठकमा समेत सरकारले प्रतिपक्षको माग पुरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितीको बैठक बसी २० गते सम्मका लागि संसद बैठक सारिएको थियो । तर आजको बैठक भने कांग्रेस सांसदहरुले सभामा उपस्थिति नभएरै बहिष्कार गरेका छन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले मन्त्रालयहरुको छुट्टाछुट्टै योजनासहितको किताब नआएका कारण बैठकमा भाग नलिइएको बतए । उनीहरुले सबै मन्त्रालयका अलग–अलग रातो किताब बनाउन माग गर्दै आएका छन् । सरकारले भने सुरुमा सबै मन्त्रालयको योजना समेटेर एउटै किताब प्रदेशसभामा वितरण गरेको थियो ।

कतिपय मन्त्रालयहरुका किताबहरु अझै आईनसकेकोले बैठकमा भाग नलिएको श्रेष्ठले बताए । उनले भोलि हुने बैठकमा किताबहरुका स्थिती हेरी भाग लिन सक्ने जानकारी दिए । ‘आज खासै हामीले उठाउनुपर्ने विषयगत मन्त्रालयको छलफल पनि थिएन’, उनले भने ‘सबै मन्त्रालयहरुको बजेट किताब मन्त्रालयगत रुपमा नआईसकेको कारण हामी बैठकमा सहभागी नभएका हौं ।’

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बैठक भने सञ्चालन गरिएको छ । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सोशीला शाहीले प्रमुख प्रतिपक्ष उपस्थित नहुनुको कारण सभामुखलाई सोधेकी थिईन् । सभामुख राजबहादुर शाहीले प्रतिपक्षले जानकारी नगराएको कारण केहि थाहा नभएको भन्दै बैठक सञ्चालन हुने जानकारी गराएका थिए ।

कर्णाली प्रदेशसभामा ६ जना नेपाली कांग्रेस र १ जना राप्रपाको तर्फबाट सांसदहरु रहेका छन् । जम्मा ४० जना सांसद मध्ये ३३ जना नेकपाका हुन् ।

प्रकाशित मितिः   २० असार २०७७, शनिबार १४:११