स्वास्थ्य संस्थामै कोरोनाको जोखिम

स्वास्थ्यकर्मी नै असुरक्षित

कर्णालीका स्वास्थ्य संस्थाहरू नै कोरोना भाइरस ‐कोभिड–१९) बाट असुरक्षित बन्दै गएका छन् । न्यून जनशक्ति र सुरक्षा सामग्रीको कमजोर व्यवस्थापनकाबीच कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढ्दै गएको हो । हालसम्म प्रदेशभर १५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।

बुधवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा कार्यरत चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गएको सोमवार कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामै कार्यरत पाँच जनालाई संक्रमण देखिएको थियो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रयोगशाला, क्वारेन्टाइन, आइसोलेसन र अन्य बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई समेत संक्रमण देखिएको छ । जुम्लामा सात, सुर्खेतमा पाँच, दैलेखमा दुई, रुकुम–पश्चिममा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिन थालेपछि अस्पताल नै सिल गर्नुपर्ने अवस्था छ । सीमित जनशक्तिका कारण क्वारेन्टाइन, आइसोलेसन र अन्य रोगका बिरामीसमेत एउटै स्वास्थ्यकर्मीले हेरिरहेका छन् । जसका कारण स्वास्थ्यकर्मी नै संक्रमणको उच्च जोखिममा छन् ।

कर्णालीमा कोरोना संक्रमण दोस्रो चरणअर्थात् समुदायस्तरमा पुगेको छ । बुधवारसम्म संक्रमितको संख्या एक हजार तीन सय ३५ पुगेको छ । त्यसमध्ये २८ जना समुदायस्तरमा भेटिएका संक्रमित हुन् । सुरुमा भारतबाट फर्किएकाहरूमा मात्रै सीमित संक्रमण विस्तारै समुदायमा देखिन थालेको हो ।

कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन् । कोरोना संक्रमण फैलिँदै जाँदा भएका स्वास्थ्यकर्मीलाई एकातिर कामको दोब्बर भार परेको छ भने अर्कोतिर जोखिम पनि उत्तिकै छ ।

चिङ्गाड गाउँपालिकाको अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रले कोरोना संक्रमित उपचारका लागि दुई वटा आइसोेलेसन सेन्टर बनाएको छ । त्यहाँ २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरसहित नौ जना स्वास्थ्यकर्मी छन् ।

स्वास्थ्यकर्मी अभाव भएपछि नियमित बिरामी चेकजाँचदेखि क्वारेन्टाइन र आइसोलेसनमा समेत उही स्वास्थ्यकर्मी खटिनु परेको छ । स्वास्थ्य केन्द्रले ओपीडी र आकस्मिक सेवा पनि दिँदै आएको छ । कोरोना संक्रमितदेखि अन्य रोगका बिरामीलाई उनै स्वास्थ्यकर्मीले हेर्दा संक्रमणको जोखिम बढेको छ । जनशक्ति अभावका कारण एकै व्यक्तिले दुवैतिर हेर्नुपर्ने बाध्यता भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मी भन्छन्, ‘अहिलेसम्म कोरोना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन । त्यसैले उहाँहरूलाई टाढैबाट सेवा दिइरहेका छौं । स्वास्थ्य सुरक्षा सावधानी अपनाएकै हुन्छौं । तर पनि जोखिम भने उच्च छ । स्वाथ्यकर्मी कम भएपछि दुवैतिर सेवा दिनुको विकल्प छैन ।’

यस्तै लेकवेशी नगरपालिकाको दशरथपुरमा बनाइएको आइसोलेसन सेन्टरमा एक जना डाक्टरसहित चार जना स्वास्थ्यकर्मी खटिएका छन् । उक्त आइसोलेसन सेन्टरमा ३९ जना कोरोना संक्रमित उपचाररत छन् । पीपीई लगायत अन्य स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गरेर स्वास्थ्यकर्मीहरू उपचारमा खटिने गरेका छन् । उनीहरूले नै नजिकै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सेवा दिने गरेका छन् । स्वास्थ्य केन्द्रका ‘हेल्थ असिस्टेन्ट’ टंक पङ्गालीले कोरोना संक्रमितलाई छुन नपरेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आफूहरूले नै सेवा दिइएको बताए । उनका अनुसार दशरथपुर आइसोलेसनमा रहेका संक्रमितलाई कोरोनाको लक्षण देखिएको छैन । सबैको अवस्था सामान्य छ ।

जाजरकोटको बारेकोट गाउँपालिकामा रहेकोे आइसोलेसन सेन्टरमा लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी खटिएका छन् । उक्त स्वास्थ्य केन्द्रमा एक जना डाक्टर छन् । उनले पनि आइसोलेसन र स्वास्थ्य केन्द्र दुवै एक्लैले हेर्नुपर्छ । लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर नविन साहनीले भने, ‘डाक्टर म मात्रै भएकाले आइसोलेसन र स्वास्थ्य संस्था दुवै हेर्नुपर्छ । आइसोलेसन र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीलाई आलोपालो गरेर खटाउने गरिएको छ ।’

प्रकाशित मितिः   ११ असार २०७७, बिहीबार ०९:०५