एक गाउँबाट अर्को गाउँ प्रवेशमा रोक
सुर्खेतः कर्णाली प्रदेश सरकारले लकडाउनलाई थप कडाइ गर्न एक गाउँदेखि अर्को गाउँ जान पनि रोक लगाएको छ । सोमवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले एक साता प्रदेश सिल गर्नुका साथै एक गाउँबाट अर्को गाउँ आवतजावतमा समेत नियन्त्रण गर्ने निर्णय गरेको हो ।
सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यान्वयन समितिका संयोजक दल रावलले प्रदेशमा प्रवेश गर्ने सबै नाकामा आवतजावत पूर्ण रूपमा बन्द गरिको भन्दै एक गाउँबाट अर्को गाउँ आवतजावतमा पनि रोक लगाइएको बताए ।
प्रदेशसँग सिमाना जोडिएका जिल्लामा कोरोना भाइरस संक्रमण देखिएकोले गाउँहरुमा पनि कडाइ गर्नुपरेको बताए । ‘अहिले देशका विभिन्न स्थानबाट धेरै मान्छेहरु गाउँ गएकाले त्यहाँ जोखिम बढेको छ,’ उनले भने, ‘यसका लागि स्थानीय तहलाई निर्देशन गरिसकिएको छ ।’ उनले अहिलेसम्म कर्णालीमा कोरोना संक्रमण नदेखिए पनि उच्च जोखिममा रहेको बताए । मन्त्री रावलले एक हप्ताका लागि एक प्रदेशदेखि अर्को प्रदेश र एक गाउँदेखि अर्को गाउँ नजान र लकडाउनको प्रभावकारी रुपमा पालना गर्न आग्रह गरे ।
प्रकाशित मितिः २३ बैशाख २०७७, मंगलवार १६:४४
साझा बिसौनी ।