बाढीपहिरोले लाखौँको अन्नबाली क्षति   

मुगु :  गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबालीमा क्षति पु¥याएको छ । मुगु खत्याड गाँउपालिका–११ रातापानीमा रहेको स्याल खोलामाथिबाट पहिरो आई खत्याड खोला थुनेर बाढी आउँदा लुई बगर, डाडिया बगर, जेउडी, माझ बगर र लाडु बगरका खेतमा पाकेर भित्र्याउन मात्र बाँकी रहेका लाखौँको अन्नबाली जौं र गहुँ बगाएको हो ।

“पाकेको जौं र गहुँ भित्र्याउने तयारी गरिरहेका बेला बाढी आएर खेतसहित सबै बाली बगाएर लग्यो । यो लकडाउनका बेला कसरी परिवार पाल्ने हो”, स्थानीय दीपबहादुर कार्कीले टेलिफोनमार्फत राससलाई भने  । “पानी पर्ने र खोलामा बाढी आइरहने क्रम नरोकिएकाले अझै कति क्षति हुने हो थाहा छैन”, उनले थपे ।

सोमबार राति नै परेको पानीले जिल्ला कै सोरु गाँउपालिकामा पनि ठूलै क्षति पु¥याएको छ । गाँउपालिका–२ नाथर्पु गाँउका लोकबहादुर कार्की र जोगीवाडा गाउँका बुढेनाथ योगीका घरमा बाढी पसेर घर बगाउँदा धनमालका साथै १० भेडाबाख्रासमेत बगेको स्थानीय स्वास्थ्यकर्मी मञ्जन शाहीले फोनमार्फत जानकारी गराए । उनका अनुसार रावलबाडा, गुल्म, जवारधारामा पनि बाढीले लाखौँको अन्नबाली र खेत बगाएको र घटनास्थल तिर सोरुकोट प्रहरी चौकीबाट प्रहरी बिहानै घटना स्थलतर्फ गएका छन् ।

सोरु गाँउपालिकामा भएको घटनाको जानकारी भएर घटनास्थलतर्फ प्रहरी गएको र ठूलै सङ्ख्यामा भेडाबाख्रा बगाएर मरेको र अन्नबाली पनि लाखौँको क्षति भएको भन्ने जानकारी आफूले पाएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जनाए । घटनास्थलहरु जिल्ला सदरमुकाम गमगढीबाट दुई दिनको पैदलबाट पश्चिम र उत्तरमा छन् ।

प्रकाशित मितिः   २ बैशाख २०७७, मंगलवार १४:५५