डोल्पामा एक सय ३२ जना क्वारेन्टाइनमा   

जाजरकोट/रासस :   ‘लकडाउन’को समयमा डोल्पा जिल्ला फर्किएका एक सय ३२ जनालाई विभिन्न स्थानका क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) जोखिम हुन नदिन ठुलिभेरी, त्रिपुरासुन्दरी नगरपालिका र वुद्धडोल्पो गाउँपालिकाका विभिन्न स्थानमा तयार गरिएको क्वारेन्टाइन उनीहरुलाई राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सबै भन्दा बढी ठुलिभेरी नगरपालिकामा ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाका २ जनालाई ‘होम क्वारेन्टाइन’ र ठुलिभेरी नगरपालिका अन्तर्गत वडा नं ३ स्थित सरस्वती माध्यामिक विद्यालय दुनैमा बनाइएको क्वारेन्टाइनमा ३३ जनालाई राखिएको छ । सोही नगरपालिका वडा नं ५ माझफाल स्थित स्वास्थ चौकीको क्वारेन्टाइनमा १६ जना राखिएको छ । नगरपालिकाकै वडा नं ८ मा पर्ने गौरी आधारभूत विद्यालय डाँगीवाडाको क्वारेन्टाइनमा १० जना राखिएको छ ।

ठुलिभेरी नगरपालिका वडा नं ७ मा पर्ने आदर्श माध्यामिक विद्यालय जुफालको क्वारेन्टाइनमा १६ जना राखिएको छ । तीन ठाउँमा (जुफाल , मोतीपुर , कालिका मन्दिर) स्वाथ्य सहायता कक्ष स्थापना गरिएको छ । नगरप्रमुख गणेसबहादुर शाही र उपप्रमुख योगेन्द्रबहादुर शाही काठमाडौँमा रहेका कारण व्यवस्थापनमा समस्या देखिएको छ । त्यस्तै उपप्रमुख शाही लामो समयदेखि बाहिर हुँदा बजार अनुगमन समेत हुन सकेको छैन ।

डोल्पोवुद्ध गाउँपालिका – २ मा ५५ जनालाई कृष्टेल माण्टेनमा क्वारेन्टाइन बनाएर राखिएको प्रजिअ सुनारले जानकारी दिए । १३ जनालाई पठाएको भएपनि क्वारेन्टाइनमा राखिएका वा नराखिएका जानकारी नआएको उनले जनाए । मुड्केचुला गाउपालिका –१ कालिकाको भोटाऔलमा क्वारेन्टाइन निमार्ण गरिएको छ ।

रुकुमको त्रिवेणी बजारदेखि मुड्केचुला गाउँपालिका प्रवेशद्वार भोटाऔलम सामुदायिक स्वस्थ्य भवनमा क्वारेन्टाइन तयार गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । भोटाऔल बस्ति हुँदै मुड्केचुला,जगदुल्ला,जुम्ला लगायतका ठाउँहरुबाट आवतजावत गर्ने मुख्य नाका भएकोले यस ठाउँमा बनाएको छ । जगदुल्ला गाउँपालिकाले ३ ठाउँमा ११ श्ययाको आइसोलेशन कक्ष स्थापना गरेको छ । ६ वडा रहेको सो गाउँपालिकामा जुम्ला र डोल्पाको सीमानाकामा पर्ने चौरीकोट स्वास्थ्य चौकी चौरीकोट,रिमी स्वस्थ्य चौकी झ्याकोट र काईगाउँ स्वास्थ्य चौकी काइगाउमा सबै जनताको पायक पर्ने ठाउँ हेरेर तीन ठाउँमा गरी ११ श्ययाको आइसोलेशन वार्ड स्थापना गरिएको गाउँपालिका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

जिल्ला अस्पतालमा दुइ जना आइसोलेसनमा भर्ना गरिएको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका दुई जना कर्मचारीलाई अस्पतालको आइसोलेसनमा राखिएको डा सिजन रावलले जानकारी दिए । उनका अनुसार ती कर्मचारी लकडाउन अघि डोल्पा आएका थिए । डोल्पाको स्वास्थ्य सेवा कार्यालयमा सम्भावित कोरोना भाइरसको उपचारका लागि आवश्यक उपकरण तथा स्वास्थ्यकर्मीका लागि पिपिई अभाव रहेको प्रजिअ सुनारले जानकारी दिए ।

प्रकाशित मितिः   १८ चैत्र २०७६, मंगलवार १२:५२