स्वास्थ्यमा लगानी गर्न आग्रह

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ असार ।
सुखद् भविष्यका लागि राज्यले किशोरीहरूको शिक्षा, स्वास्थ्य र रोजगारमा विशेष ध्यान नदिँदा जिल्लामा बालविवाहको संख्या घट्नुको सट्टा बढ्दै गइरहेको एक कार्यक्रममा बताइएको छ । ‘सुखद् भविष्यका लागि किशोरीमा लगानी’ भन्ने मूल नाराका साथ विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला जनसंख्या समन्वय समितिले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । उनीहरूले किशोरीका मुख्य समस्या प्रजनन् स्वास्थ्यमा पहुँच नहुनु, शिक्षाको अभाव तथा उनीहरू आत्मनिर्भर नहुँदा नै जिल्लामा बालविवाह बढ्दै गइरहेको बताए ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका बालअधिकार अधिकृत रमा भण्डारीले सुर्खेत जिल्लामा बालविवाहको संख्या बढ्दो रहेको बताइन् । बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरू गरे पनि फलदायी भने नभएको उनको भनाइ थियो । उनले पछिल्लो समय बालविवाह बाबुआमाले भन्दा पनि बालबालिकाहरू आफै भागेर विवाह गर्ने गरेको बताइन् । उनले कम उमेरमा विवाह गर्दा बालिकाको पाठेघर खस्ने, सानै उमेरमा बच्चा जन्माउन कठिन हुने, शारीरिक र मानसिक रूपमा कमजोर हुने, बच्चा अपाङ्ग हुने, कामको बोझ, घर व्यवहारको जिम्मेवारी कठिन र आत्मग्लानी भइ आत्महत्या गर्न पछि नपर्ने भएकाले राज्यले नै किशोरीहरूका लागि लगानी गर्नुपर्नेमा जोड दिइन् । सुर्खेत जिल्ला बालविवाहको सातौं जिल्लाको रूपमा रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका बसन्तमान श्रेष्ठले हरेक वर्ष २० वर्षमुनीका तीन हजार बालिकाहरू गर्भ जाँच गराउन आउने गरेको बताए । उनले भने, ‘यस तथाङ्कबाट पनि स्पष्ट हुन्छ कि किशोरी आमाहरूको संख्या बढ्दो क्रममा रहेको छ ।’ किशोरीहरूका लागि राज्यले शिक्षा, स्वास्थ्यमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी किशारीहरूले किशोरीहरूलाई मात्र सचेत र कार्यक्रम गरेर नहुने भन्दै शिक्षक र अभिभावकलाई समेत जनचेतना जगाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विद्यालयमा किशोरीहरूका लागि सेनेटरी प्याटको व्यवस्था गर्नुपर्ने र किशोरीहरूको शिक्षादेखि स्वास्थ्य र आयआर्जनमूलक कार्यक्रमहरू ल्याउनुपर्ने बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, किशोरीहरू लगायतको सहभागिता रहेको कार्यक्रम जिल्ला जनसंख्या समन्वय समिति संयोजक हिरालाल रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   २८ असार २०७३, मंगलवार ०६:०८