१३२ केभी निर्माण गर्न टेण्डर आह्वान

२४ महिनामा सम्पन्न गर्ने लक्ष्य


सुर्खेत : कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाइन निर्माण गर्न टेण्डरको प्रक्रिया सुरु भएको छ । हालै मात्र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएको आयोजना निर्माणका लागि टेण्डर आह्वान गरिएको हो । ईआईएपश्चात आयोजनाले टेण्डरका लागि मंगलवार ४६ दिने सूचना प्रकाशित गरेको छ । सार्वजनिक सूचना प्रकाशित गरेर टेण्डरको आह्वान गरिएको कोहलपुर–सुर्खेत १ सय ३२ केभि प्रसारणलाइन आयोजनाका प्रमुख रविसिं चौधरीले जानकारी दिएका छन् । उनले दुई वर्ष चार महिनामा काम सक्ने गरी ठेकेदार कम्पनीलाई कामको जिम्मा दिने समेत बताएका छन् ।

लामो समयदेखि चर्चा भए पनि अलपत्र पर्दै आएको १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजना अब भने बन्ने पक्काजस्तै भएको छ । नेपाल विद्युत प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज केही सामुदायिक र केही राष्ट्रिय वन आयोजनाबाट प्रभावित हुनेछन् । जसमा घना जंगल र केही बस्ती प्रभावित हुने जनाइएको छ । धेरै जसो भू–भाग वन तथा खेतीयोग्य जमिन भएर जाने देखिन्छ ।

प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ । आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सव–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक ठानिएको छ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । साथै आयोजनाबाट तीन जिल्लाका पाँच नगरपालिका तथा एक गाउँपालिका प्रभावित हुने जनाइएको छ । जसमा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगंगा, लेकवेशी तथा वीरेन्द्रनगर नगरपालिकाहरू प्रभावित हुने ईआईए प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बाँकेको कोहलपुर सव–स्टेशनबाट प्रारम्भ भइ सुर्खेतको वीरेन्द्रनगरस्थित प्रस्तावित सुर्खेत सव–स्टेशनमा गएर टुङ्गिने यही आयोजनाबाट दैलेखसम्म विद्युत विस्तार गरिने जनाइएको छ । प्रस्तावित प्रसारणलाइन आयोजनाको लम्बाई करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजनाको अनुमानित लागत एक अर्ब ८० करोड लाग्ने जनाइएको छ । आयोजना निर्माण भएमा सुर्खेत र दैलेखका नागरिकले थप सुविधा पाउनेछन् ।

सुर्खेतबाट प्रतिनिधि सभामा निर्वाचित सांसद नवराज रावतले अब भने १३२ केभी प्रसारणलाइनले कर्णालीका जनताको जीवनचर्या बदलिने बताएका छन् । उनले हालसम्म ३३ केभी प्रसारणलाइनका कारण दिनहुँ पटके रूपमा जाने लाइनको अन्त्य हुने र उद्योग तथा कलाकारखानाहरू स्थापना गर्न समेत सहज हुने भएकोले यसले कर्णालीको आर्थिक समृद्धि समेत हुने बताएका छन् । ‘म निर्वाचित भएदेखि नै १३२ केभी प्रसारणलाइनको लागि लागिपरेको छु’ उनले भने ‘मैले धेरै पटक समेत संसदमा यो विषयलाई उठाएको छु ।

अब वातावरणीय प्रभाव मूल्यांकनसहित टेण्डर आह्वान भएपछि बन्ने पक्का भएको छ ।’ रावतले अब कुनै पनि हालतले दुई वर्षभित्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइनको काम सफल भएरै छाड्ने बताएका छन् । उनले १३२ केभी प्रसारणलाइन पन्ध्रवर्ष अगाडिदेखि आवश्यक भए पनि अघिल्ला नेतृत्वले यसमा खासै चासो नदेखाएको उनले आरोप लगाएका छन् । विद्युतकै अभावकै कारण कर्णाली उद्योगधन्दामा पछाडि भएको जिकिर गर्दै रावतले अबको दिनमा कर्णालीमा उद्योग धन्दा फस्टाउने दाबी गरे । हाल कोहलपुर–सुर्खेत ३३ केभी प्रसारणलाइन रहेको छ । जसको क्षमता विस्तार गर्दै १३२ केभी बनाउन लागिएको हो ।

प्रकाशित मितिः   २५ भाद्र २०७६, बुधबार ११:५६