देउवा समूहको प्रदेश अधिवेशन हुँदै
सुर्खेत: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफ्नो १५औँ कर्णाली प्रदेश अधिवेशन मंसिर १३ र १४ गते गर्दैछ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको प्रदेश संयोजक रंगमती शाहीले बताइन् ।
बिहीवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शाहीले अधिवेशनको सम्पूर्ण तयारी भइसकेको र दुई हजारदेखि दुई हजार पाँच सय जना नेता, कार्यकर्ता सहभागी हुने दाबी गरिन् ।
उनका अनुसार एक हजार दुई सय जना प्रतिनिधि नै रहेका छन् । दुई दिन सञ्चालन हुने अधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । अधिवेशनमा शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरू पनि सहभागी हुने शाहीले जानकारी दिइन् । वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनमा सहभागी हुन देउवा १२ गते नै सुर्खेत आउने पनि उनले बताइन् ।
देउवा कांग्रेसको कर्णालीमा आठ वटा जिल्ला अधिवेशन सकिए । सुर्खेत र डोल्पामा बाँकी छ । संयोजक शाहीका अनुसार, सुर्खेत र कर्णालीको अधिवेशन सँगसँगै गर्ने भनेर राखिएको हो । वीरेन्द्रनगरस्थित सिटी हलमा हुने अधिवेशनको पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ । देउवा पक्षले कर्णालीका आठ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ । सुर्खेत र डोल्पामा भने शुक्रवार जिल्ला अधिवेशन हुने शाहीले जानकारी दिइन् ।
प्रकाशित मितिः ११ मंसिर २०८३, शुक्रबार १२:१५
साझा बिसौनी ।