एमयूले खुलायो डिनका लागि दरखास्त
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सात वटा ग्राजुएट स्कुलका डिन तथा दुई वटा निर्देशनालयका कार्यकारी निर्देशक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयको ऐन तथा नियमावली बमोजिम रिक्त रहेका ती पदहरूमा योग्य उम्मेदवार छनोट गर्न सोमवार औपचारिक सूचना प्रकाशित गरिएको हो ।
सार्वजनिक सूचनाअनुसार विश्वविद्यालय अन्तर्गतका ‘ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स’, ‘ग्राजुएट स्कुल अफ एजुकेसन’, ‘ग्राजुएट स्कुल अफ इन्जिनियरिङ’, ‘ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स’, ‘ग्राजुएट स्कुल अफ ल’, ‘ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट’ तथा ‘ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी’ का लागि एक–एक जना डिन माग गरिएको छ ।
यसैगरी, ‘अनुसन्धान निर्देशनालय’ र ‘पाठ्यक्रम विकास निर्देशनालय’ का लागि पनि एक–एक जना कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्न लागिएको विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
इच्छुक र योग्य उम्मेदवारहरूले सम्बन्धित विषयको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, प्रमाणित कार्यअनुभवको प्रतिलिपि, वैयक्तिक विवरण (बायोडाटा) तथा विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेस गर्नुपर्नेछ । कार्ययोजना बढीमा दुई हजार पाँच सय शब्दसम्मको हुनुपर्ने र त्यसमा संकायको विद्यमान अवस्थाको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम र क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा तथा स्रोत, बजेट र अनुगमनका विषयहरू अनिवार्य समेटिएको हुनुपर्ने व्यवस्था गरिएको छ । सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् नेपाली समयअनुसार मंसिर १३ गते राति १२ः०० बजेभित्र उम्मेदवारहरूले दरखास्त दिनुपर्नेछ ।

प्रकाशित मितिः ८ मंसिर २०८३, मंगलवार १०:५०

साझा बिसौनी ।