राष्ट्रिय खेलकुदको रौनक

सुर्खेत: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीमा रौनक बढाएको छ । निकै लामो प्रतिक्षापछि कर्णाली प्रदेशले नेपाली खेलकुदको महाकुम्भ आयोजना गर्ने अवसर पाएको छ । यो प्रतियोगिताको रौनक सुर्खेतमा मात्रै नभएर प्रदेशभर देखिएको छ ।
औपचारिक रूपमा मंसिर १६ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कार्यतालिका भएपनि आज (मंगलवार) देखि नै केही खेलहरू सञ्चालन हुँदैछन् । प्रतियोगितालाई लक्षित गर्दै सोमवारदेखि नै प्रचारात्मक ¥याली निकालिएको छ । ¥यालीमा विभिन्न जिल्लाका खेलाडी, विभागीय टोलीका प्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । ¥यालीमार्फत प्रतियोगिताको वातावरण निर्माण गर्नुका साथै कर्णालीमा खेलकुद गतिविधिलाई चलायमान बनाउने लक्ष्य रहेको कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव रविन चन्दले बताए ।
प्रतियोगिताअन्तर्गत ३२ खेलका प्रतिस्पर्धा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछन् । राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेलस्थल विवरणअनुसार सुर्खेतमा सबैभन्दा धेरै २३ खेलका प्रतिस्पर्धा हुनेछन् । कर्णालीका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि खेल आयोजना हुनेछन् । त्यस्तै, महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल जुम्लामा खेलाइनेछन् ।
सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्टस् र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन् । यी खेल वीरेन्द्रनगरस्थित मुख्य रंगशाला, कभर्डहल, सेनाको खेलमैदान, काँक्रेविहार र छिञ्चुलगायत स्थानमा सञ्चालन हुनेछन् ।
सुर्खेतबाहिर सल्यानको श्रीनगरमा जुडो र कुस्ती, दैलेखको नारायण कभर्डहलमा आईटीएफ तेक्वान्दो, कालीकोट कभर्डहलमा बुद्धिचाल र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता हुनेछ । त्यस्तै, जुम्लामा महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेलाइनेछन् ।
त्यसैगरी केही खेलहरू लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । बाँकेको नेपालगञ्जमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र महिला तथा पुरुष खो–खो खेलका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । मंसिर ८ गतेदेखि हुने खेलमा घरेलु टोली कर्णालीले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगिताको औपचारिक
उद्घाटन भने मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । मंसिर ८ गतेदेखि २७ गतेसम्म खेल प्रतिस्पर्धा सञ्चालन हुने भएकाले कर्णालीले २० दिन राष्ट्रिय खेलकुदको आतिथ्य गर्नेछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । उनीहरूले तीन सय ८४ इभेन्ट्समा एक हजार तीन सय ३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरी तयारी अघि बढाइएको छ । बास व्यवस्थापन उपसमिति संयोजकसमेत रहेका प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले बास व्यवस्थापनको कुनै समस्या नहुने दाबी गरे । प्रतियोगिताका खेलाडी, पाहुनाका लागि पर्याप्त होटल तथा बेड संख्या रहेको जनाए । उनका अनुसार पाँच हजार नौ सय बेड संख्या सुनिश्चित गरिएको छ ।
५७ वटा होटलमा खेलाडी व्यवस्थापन गरिएको छ । ‘हामीले अरू ४२ वटा होटेलहरू होल्डमा राखेका छौँ, त्यो चाहिँ दर्शकहरू, अन्य प्रदेशबाट आउनुभएका पाहुनाहरू, हाम्रै कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आउनुभएका पाहुनाहरूलाई पनि त्यहाँ व्यवस्थापन गर्नका लागि हामीले तयारी गरेका छौँ,’ उनले भने । प्रतियोगिताको उद्घाटनमा प्रधानमन्त्री बालेन्द्र शाह आफैँ आउने चर्चा छ । यद्यपि, प्रधानमन्त्री आउनेबारे यकीन भइसकेको छैन ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर स्वास्थ्य सेवाका लागि पनि थप व्यवस्थापन गरिएको छ । खेल सञ्चालन हुने रंगशालाभित्रै आठ बेड क्षमताको अस्पताल सञ्चालनमा आएको छ । प्रतियोगिता सञ्चालन अवधिमा खेलाडी तथा दर्शकलाई कुनै स्वास्थ्य समस्या देखिए तत्काल उपचारका लागि व्यवस्था मिलाइएको जनाइएको छ ।
प्रकाशित मितिः ८ मंसिर २०८३, मंगलवार १०:४६
साझा बिसौनी ।