ठेक्का सम्झौतामै बिलम्व

सुर्खेत: पूर्वाधार विकासमा प्रदेश सरकारले लक्ष्य अनुरूप काम गर्न सकिरहेको छैन । यो वर्ष पनि कर्णाली प्रदेश सरकारले आयोजना कार्यान्वयनमा आफ्नो लय समात्न सकेको छैन । आर्थिक वर्ष सुरु हुँदा नै सरकार फेरबदलको गोलचक्करमा भूलेको प्रदेश सरकारले आफ्नो लक्ष्य अनुरूप काम गर्न नसकेको हो ।
यो वर्ष ठेक्का सम्झौतामै बिलम्व भएको छ । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले लक्ष्य बमोजिम काम गर्न सकेको छैन । मन्त्रालयले हालसम्म करिब तीन प्रतिशत आयोजना मात्रै कार्यान्वयन प्रक्रियामा लैजान सकेको छ । यस वर्ष मन्त्रालय मातहत चार सय २२ वटा नयाँ कार्यान्वयन गर्नुपर्ने र स्रोत सहमति लिएर ठेक्का लगाउनुपर्ने एक सय आठ वटा गरी कुल आयोजना संख्या पाँच सय २८ वटा रहेको छ । नयाँ कार्यान्वयन गर्नुपर्ने योजनामध्ये तीन सय ८५ वटा सडक निर्माण, दुई वटा मोटरेबल पुल, तीन वटा झोलुङ्गे पुल, सरकारी भवन, आवास तथा सामुदायिक भवनतर्फ १४ वटा र सडकलगायत पूर्वाधारको आकस्मिक तथा नियमित मर्मततर्फ १८ वटा आयोजना तथा कार्यक्रम छन् ।
तर, हालसम्म जम्मा १२ वटा योजना मात्रै ठेक्काको प्रक्रियामा अघि बढेका छन् । सडक निर्माणतर्फका आठ र बाँकी मर्मत तथा सरकारी भवनतर्फका चार वटा आयोजना ठेक्का प्रक्रियामा गएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । स्रोत सहमति लिएर कार्यान्वयन गर्नुपर्ने आयोजना त कुनै पनि अघि बढेका छैनन् । जिल्ला–जिल्लाका भौतिक पूर्वाधार कार्यालयहरूको कार्यसम्पादन अवस्था दयनीय देखिएको छ । नयाँ कार्यान्वयनमा लैजानुपर्ने योजनामध्ये सुर्खेतमा ८३, दैलेखमा ५६, सल्यानमा २७, कालीकोटमा ३६, मुगुमा १८, डोल्पामा ६४ र जुम्लामा २८ वटा रहेका छन् । यस्तै, रूकुमपश्चिममा ३२, जाजरकोटमा ५४ र हुम्लामा २४ वटा योजना छन् । हालसम्म ठेक्का प्रक्रियामा जाने योजनामा कालीकोटमा ९, सुर्खेतमा २ र हुम्लामा एउटा मात्र छन् । बाँकी जिल्लामा कुनै पनि योजना ठेक्का प्रक्रियामा जान सकेका छैनन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता प्रेमबहादुर ओलीले योजना ठेक्कामा जान नसक्नुको प्रमुख कारण विद्युतीय खरिद प्रणाली (ई–बिडिङ सिस्टम) भएको बताए । धेरै कार्यालयले ठेक्का प्रणालीमा लैजान तयारी गरेका आयोजना पनि उक्त सिस्टमका कारण अघि बढ्न नसकेको उनले जानकारी दिए । अबको १५ देखि २० दिनमा दुई सयदेखि दुई सय ५० वटासम्म ठेक्का खुल्ने उनले बताए । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले पनि यही सिस्टमका कारण ढिलाइ भएको बताइन् । उनले प्रतिफल देखिनेगरी काम गर्न लागिएकाले केही बिलम्व भएको जनाइन् ।
सरकारले आफ्नो नीतिमा यसअघि असोज मसान्त र अहिले कार्तिक मसान्तसम्म चालु आर्थिक वर्षमा कार्यान्वयनमा लिनुपर्ने सबै योजनाको प्रक्रिया सुरु गरिसक्नुपर्ने नीति लिएको छ । साथै, मुख्यमन्त्री र मन्त्रीबिच तथा मन्त्री र कर्मचारीबिचको कार्यसम्पादन करार सम्झौतामा पनि यी कुरा उल्लेख छन् । यद्यपि, व्यवहारमा ती सम्झौता लागू भएको देखिँदैन ।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै बजेट भौतिक मन्त्रालयसँग छ । प्रदेशको कुल ३५ अर्ब ३९ करोड बजेटमध्ये भौतिक पूर्वाधार मन्त्रालयसँग १० अर्ब ९३ करोड २१ लाख बराबरको वार्षिक बजेट छ । त्यसमा विकास बजेट मात्रै १० अर्ब ५९ करोड रूपैयाँ छ । यद्यपि, कार्तिक मसान्तसम्म कुल बजेटको जम्मा ६.८८ प्रतिशत मात्र खर्च भएको छ । विकासतर्फ ६.४४ प्रतिशत अर्थात् ६८ करोड २१ लाख बराबर मात्रै बजेट कार्यान्वयनमा आएको छ । असोज मसान्तसम्म ६० करोड ७७ लाख विकास बजेट कार्यान्वयनमा आएको थियो । चालुतर्फ भने हालसम्म २०.६१ प्रतिशत खर्च भइसकेको छ । आयोजनाहरू कार्यान्वयनमा जान नसक्दाको प्रत्यक्ष असर विकास खर्चमा परेको छ । गत वर्ष यही अवधिमा आधाभन्दा धेरै आयोजना कार्यान्वयनमा गइसकेका थिए । गत वर्ष पाँच सय १२ नयाँ आयोजना छनोट गरिएकोमा कार्तिक मसान्तसम्म दुई सय ४५ वटा आयोजनाको ठेक्का लागिसकेको थियो ।
प्रकाशित मितिः ७ मंसिर २०८३, सोमबार १६:४९
साझा बिसौनी ।