अव्यवस्थित सडकले दुर्घटनाको जोखिम

सुर्खेत: २३ असोजमा वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट विवेक थापाको मृत्यु भयो । पैदलयात्रा गरिरहेको क्रममा उनलाई मोटरसाइकले ठक्कर दिएको थियो । दैलेखको भैरवी गाउँपालिका–१ घर भइ हाल वीरेन्द्रनगर–१०, बुदबुदेमा बस्दै आएका ३७ वर्षीय विवेकको उपचार गर्न नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
यस्तै ८ साउन २०८२ मा वीरेन्द्रनगरमा नै जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भयो । वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाविटनजिक गाडीको ठक्करबाट ३४ वर्षीय प्रेम बुढाको मृत्यु भएको थियो । प्रहरीका अनुसार गुमीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२००१ च ०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका बुढालाई ठक्कर दिएको थियो ।
उल्लेखित घटना प्रतिनिधि मात्र हुन् । वीरेन्द्रनगरमा दिनप्रतिदिन सडक सुरक्षाको गम्भीर अवस्था बन्दै गएको छ भने पैदल यात्रीहरूले समस्या भोग्नुपरेको छ । नगरका सडकहरूमा उचित फुटपाथको अभाव, तीव्र गति, ट्राफिक नियमको उल्लंघन र कमजोर पूर्वाधारका कारण पैदल यात्रीहरूले ज्यान गुमाउनु परिरहेको छ । सडक दुर्घटना बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगरमा पैदल यात्रु र सवारीका अधिक चापका कारण दुर्घटना बढ्दो क्रममा रहेको कार्यालय प्रमुख रोहितकुमार शाहीले बताए । जसले गर्दा दुर्घटनाको जोखिम पनि बढी हुने गरेको भन्दै उनले हरेक दिनजसो सानो तथा ठूला सवारी दुर्घटनाका घटना हुनेगरेको जानकारी दिए । ‘फुटपाथ व्यवस्थापन नहुँदा निकै समस्या भइरहेको छ’ शाहीले भने, ‘सडकको सदुपयोग सही तरिकाले गर्नका लागि सचेतना आवश्यक छ, सडक अनुशासनको परिपालना हुन सकिरहेको छैन ।’
फुटपाथ पैदल यात्रुले प्रयोग गर्न पाइरहेका छैनन् । सडक छेउका व्यवसायीहरूले सामान राखिरहेका कारण बढी जोखिम बढेको ट्राफिक प्रमुख शाहीको भनाइ छ । यात्रु र सवारीसाधन मूल सडकमै हिँड्ने र गुड्ने हुँदा दुर्घटनाको जोखिम झन् बढेको उनले जानकारी दिए । साइकल लेन, जेब्राक्रस, सडक बत्तीलगायतका पूर्वाधारको अभाव हुँदा सुरक्षा चुनौती बढेको उनले जनाए । सीमित ठाउँमा बनाइएका जेब्रा क्रसको प्रयोग नै हुँदैनन् भने जेब्रा क्रसका रेखा मेटिदँै गएका छन् । जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटनाको डर हुने हुँदा पैदल यात्रुलाई बाटो काट्नका लागि सहज र सुरक्षित बनाउन जेब्रा क्रस बनाउने गरिन्छ । तर वीरेन्द्रनगरका सडकमा देख्न पाइँदैन । मुख्य बजार क्षेत्रमा बनाइएका जेब्रा क्रस पनि प्रयोगविहीन छन् । कतिसम्म भने पछिल्लो समय त जेब्रा क्रस नै मेटिएर नदेखिने भएका प्रहरीको भनाइ छ ।
जेब्रा क्रस नहुँदा सवारी चलाउने र पैदल यात्री दुवैलाई समस्या हुने गरेको छ । हेलचक्य्राइँ कुनै एक पक्षबाट मात्र पनि भएको छैन । पैदल यात्रु, सवारी चालकका साथै नियम पालना गराउनुपर्ने निकाय ट्राफिक प्रहरीबाट पनि बेवास्ता हुने गरेको छ । यात्रुले जहाँकहीँबाट बाटो काटिरहेका हुन्छन् । जेब्रा क्रससम्म पुग्दैनन् । अर्कोतर्फ सवारी चालकहरू जेब्रा क्रस भएको स्थानमा पनि गति कम नगरेर सवारी हाँक्छन् । यात्रु नै डराउनुपर्नेगरी । दुवै पक्षले नियम पालना नगरेपछि जेब्रा क्रस हुनुको पनि कुनै अर्थ रहेन । त्यसमाथि ट्राफिक प्रहरीको कर्तव्य सडक अनुशासन पालना गराउनु । नियम लागू गर्नु र पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनु । तर नियमनकारी निकायले नै बेवास्ता गरिरहेको छ । मुख्य चोकमै नियमविपरित यात्रुहरूले बाटो काटिरहँदा नजिकै रहेका प्रहरी मुकदर्शक बनिरहेका हुन्छन् ।
वीरेन्द्रनगरको सडक क्षेत्र राजमार्गअन्तर्गत पर्छ । उक्त क्षेत्रमा फुटपाथ व्यवस्थापन हुन सकेको छैन । बजार क्षेत्रको आठ किलोमिटर सडक जोखिममा छ । जसले गर्दा दिनहुँ दुर्घटना हुने गरेको छ भने ज्यानसमेत जानेगरेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले सडक व्यवस्थापनको बृहत् योजना कार्यान्वयन गर्न लागिएको जनाएको छ । सुब्बाकुनादेखि बाङ्गेसिमलसम्म आठ किलोमिटर सडक चौडा गर्ने काम अघि बढाउन लागिएको जनाएको छ । नाला निर्माण, फुटपाथ व्यवस्थापन र सर्विस ट्रयाक निर्माण गरिने कार्यालय प्रमुख विवशवावु सदादेवले बताए । यो वर्ष बृहत् योजना कार्यान्वयनका लागि बजेटको माग गरिएको उनको भनाइ छ । भौतिक मन्त्री सुनिल लम्सालले समेत यो योजना अघि बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित मितिः १ कार्तिक २०८३, शनिबार ११:२३
साझा बिसौनी ।