पूर्वमुख्यमन्त्री शर्माले गुमाए सांसद पद
सुर्खेत: कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा सदस्यको पद गुमाएका छन् । प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा हालेको रिट खारेज भएसँगै उनको पद गुमेको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को सिफारिसमा कर्णाली प्रदेशसभा सचिवालयले उनको पद रिक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि प्रदेशसभा सचिवालयको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट हालेका थिए । सोमवार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासबाट उक्त रिट खारेज गरिएसँगै शर्माको सांसद पद गएको हो । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनी जनार्दशन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ लागेका थिए ।
तत्कालीन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले २०८२ मंसिर १७ गते दल नेताबाट राजीनामा दिएका थिए । प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले उनको राजीनामा स्वीकृत गर्दै शर्मालाई प्रदेशसभा सदस्य पदबाट समेत हटाउन केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो । शर्मा २०७९ को प्रदेशसभा निर्वाचनमा रूकुमपश्चिम (ख) बाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मितिः १३ आश्विन २०८३, मंगलवार १६:५२

साझा बिसौनी ।