स्खलित ओली अहंकार
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पछिल्लोपटक सत्तासीन भएपछि उनको दम्भ र अहंकार चुलिदै गएको थियो । आलोचक, विरोधी र विपक्षलाई प्रतिशोध साँध्ने, मुद्दा लगाई दुःख दिने, कुशासनको डण्डा चलाइ अराजकता मच्चाउने गरिरहेका थिए । सत्तायात्री पार्टीका नेता–कार्यकर्तालाई समेत कारबाही चलाउँदै नेपाली कांग्रेसमाथि हावी भइरहेका थिए । कांग्रेसबाट राज्यमन्त्री बनेका कान्छाराम तामाङलाई निकालिदिए, छानीछानी मोहन बस्नेतलाई मात्र टेरामक्स काण्डमा फसाएर सांसद पद निलम्बन पारिदिए । भिजिट भिसा काण्डमा गृहमन्त्री रमेश लेखकलाई बदनाम पारिदिए । तामाङ र बस्नेतलाई ओलीले कारबाही गरेपछि अब गठबन्धन छोड्नुपर्छ भनी लेखकले कांग्रेसको बैठकमा धारणा राखेको हुँदा प्रतिशोधमा कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अगाडि सारियो । होइन भने करिब दुईतिहाईको शक्तिशाली सरकारको गृहमन्त्रीलाई कसैले कारबाहीको आँट गर्न सक्छ ?
भिजिट भिसामा गृहमन्त्रीले दैनिक ५० लाख भाग पाउँछन् भन्ने खबरहरू मिडियामा आए । गृहमन्त्रीले त्यत्रो खाँदा प्रधानमन्त्रीले भाग पाउँदैन भनेर कसैले पत्याउँछ ? रातारात पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा पुगि बयान लिएको एउटा प्रक्रिया मात्रै पूरा गर्ने हो भन्दै आश्वासन दिएर कसको कुन इशारामा अख्तियारले हतार–हतार विशेष अदालतमा मुद्दा दायर ग¥यो भन्ने कुरा छर्लङ्ग बुझिन आउँछ । यहाँ माधव नेपाललाई सहानुभूति राखेको पटक्कै होइन, अख्तियारको नियतमा प्रश्न उठाउन खोजेको अवश्य हो । कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले लेखकलाई बोकी बालुवाटार पुगेपछि भिजिट भिसा काण्ड तत्काल ओइलायो । रास्वपाले भिजिट भिसा काण्डमा लेखकमाथि छानबिनको माग गरिरहेको थियो । माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताविमुखको पीडाले मरणासन्न छट्पटीमा थिए । त्यसकारण लेखकविरुद्ध रास्वपाको स्वरमा स्वर मिलाउँदै अझ चर्को सुनिएका थिए । माओवादी नेता अग्नि सापकोटाको विचाराधीन मुद्दामा अदालतले पेशी तोक्ने तरखर गरेपछि प्रचण्डले हातखडा गर्दै दुई बुँदे लज्जाजनक सहमतिमा हस्ताक्षर गरेर सत्तासँग आत्मासमर्पण गरेका थिए । अनेक दबाब दिएर देउवालाई प्रधानमन्त्री बन्ने पालो कुर्दै बस्न विवश पारिएको थियो । त्यसकारण घृणा र वितृष्णा बढ्दैबढ्दै ओलीप्रती जनताको सोच र दृष्टिकोण आक्रोशमा बदलिंदै गएको थियो ।
सत्ताको डण्डा चलाएर सबैलाई ठेगान लगाउन सकिन्छ भन्ने भ्रममा पर्दै ओलीले आफ्नो महिमा गानमा खेताला बटुले र राज्यको ढुकुटीबाट खेलको आयोजना समेत गरे । तर पनि आलोचना झन् झन् बढ्दै गयो । आफ्नो भाग्यमा उदाएको घाम कहिल्यै पनि डुब्दैन भन्ने ठानेका ओलीलाई निरंकुश बादसाह हुने रहर पलायो तब त सामाजिक सन्जालमाथी बन्देज लगाए । तर यो रहर उनको जीवनमा सबैभन्दा महँगो प¥यो । युवाले ज्यानको आहुती दिएर खुङ्खार ओलीलाई सत्ताबाट गलहत्याए । हेलिकप्टरबाट भाग्न बाध्य बनाए । भागेको हप्ता÷दस दिन पछाडि मात्रै भक्तपुरको गुण्डुमा देखा परेका ओलीले ‘पाँच मिनेट भाग्न ढिलो गरेको भए मारिने रहेछु’ भने । ‘एक ठाउँबाट अर्को ठाउँमा टुरमुकाम सारेको मात्रै हो, काम चलाउ प्रधानमन्त्री मै थिएँ, कसरी भागेको हुन्छ ?’ भन्ने प्रश्न उठाए । अनि फेरि भने, ‘म भागेको होइन नि, केटाकेटी खुसी पार्न भागे जस्तो मात्रै गरेको हुँ ।’ उनका कुरामा त्यस्ता कसले कसरी विश्वास गर्ने ? विरोधाभास र विचलित अभिव्यक्तिले उनलाई थप बेइमान बनाएको छ ।
जेन–जी आन्दोलनले तारो बनाएपछि पार्टीको नेतृत्व कसैले फुत्काइदिन्छ कि भन्ने भयले पदावधि छँदाछँदै हतार हतारमा महाधिवेशन गरेर फेरि आफैले पार्टी कब्जा गरे । ७० वर्षको उमेरहद वा दुई कार्यकाल नेतृत्व सम्हालिसकेको व्यक्ति फेरि दोहोरिन नपाइने भन्ने व्यवस्था विधानमा राखेर लोकतान्त्रिक अभ्यासमा थियो एमाले तर ओलीले आफू फेरि अध्यक्ष हुनका लागि त्यसलाई खारेज गरिदिए । ऊनी अध्यक्षमा चुनिएपछि आफ्नो चुनावी क्षेत्रबाट लड्नका लागि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई सार्वजनिक रूपमा ललकार्न थाले । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजिनामा दिई ओलीकै चुनावी क्षेत्रबाट सांसद पदमा उम्मेदवारी दिएपछि बाहिर जति चर्किए पनि भित्रभित्रै निकै आत्तिरहेका थिए । किन कि उनी झापा आफ्नो क्षेत्र छोडेर बाहिर निस्कन सकेनन् । जनताको व्याङ्गयात्मक तिखा प्रश्नमा उनी निरिह भइरहेका थिए । रवि र बालेनकाबीच आगो सल्काउनका लागि ‘बालेन बिचरा उल्किने व्यक्ति रहेछन्, रविले भुङ्ग्रोमा ल्याएर हालिदिए’ भन्न समेत पछि परेनन् । चुनावमा कतै उत्तानै पो पारिदिन्छन कि भन्ने भय मनमा पसेपछि ठुटेसिङ र बतासे अण्डाको संज्ञा दिँदै साँच्चै प्रधानमन्त्री बन्ने भए आफ्नै जिल्लाबाट चुनाव किन नलडेको भनी आक्रोश पोखेबाट उनको मनोदशा बुझ्न सकिन्थ्यो ।
ओलीको चुनावी क्षेत्रबाट बालेनले ६८ हजार तीन सय ४८ मत प्रात गरेर विजयी भए, १८ हजार सात सय ३४ मत दिएर जनताले ओलीलाई सबक मात्र सिकाएनन् लज्जास्पद पराजयको भारी पनि बोकाए । पराजयको पीडाबाट बौरिएपछि ओलीले चुनावमा धाँधली भएको, बुथ कब्जा गरिएको मतपत्र धेरै छापिएको जस्ता अत्यन्त गैरजिम्मेवार र बहुलट्ठी आरोप लगाउँदा जनताको नजरमा हास्यपात्र बन्दै गए । पराजयको भँडास कहिले उनी जनतामाथि पोख्दै भन्छन्, ‘आफुलाई निर्वाचनमा हराएर जनताले ठूलो गलती गरे अब जनताले त्यस्तो गल्ती गर्न हुँदैन सच्याउनु पर्छ ।’ जनतालाई मात्र होइन ओलीले पार्टीका नेता कार्यकर्तालाई पनि धारेहात लगाउँदै भन्छन्, ‘पार्टी नफेर्ने भोट फेर्ने भन्न पाइन्न । अर्काको हलो जोतेर यता भात खान दिइने छैन’ भन्दै ओलीले आक्रोश व्यक्त गरेका थिए । पार्टीका शुभचिन्तक नेता कार्यकर्ता ओलीको रवैयाबाट हुक्का दिक्क रहेछन् भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ ।
एमालेको जुनसुकै कार्यक्रममा आफ्नो बाहेक कसैको फोटो नराख्न ओलीले अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको थियो । ओलीको हुकुम अब तामेल हुन नसक्ने र चुनावमा जाँदा थप नोक्सान हुने बुझेर पार्टीको गतिविधि, कार्यक्रम र चुनावी गतिविधिहरूमा ओलीको तस्बिर हटाउने अभियान चालिएको थियो । आदर्श, सिद्धान्त र नीतिका कुरा छोडौँ नेतृत्वको पछि लागौँ, नेतृत्वलाई नै विचार मानौँ भन्ने ढंगले घोकाएर आज कसैले मान्दैन । नेतृत्वमा बराबर विकार पैदा भइरहने तर अन्य नेता कार्यकर्ताहरूले आँखा चिम्लिदिनु पर्ने स्थितिबाट गुज्रिरहेको थियो एमाले । परिणाम ओलीले मात्र होइन सिँगो एमालेले लज्जास्पद हार व्यहोर्नु प¥यो । पार्टीमा थप क्षति हुन नदिन र पार्टीको साख जोगाउन चिन्तनशील भए एमालेजन । ओलीले रोक्दारोक्दै र छेक्दाछेक्दै ओली गुटका नेता कार्यकर्ता समेत चुनावी समिक्षा गर्न कम्मर कसे ओलीले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकाले ।
मार्ग प्रशस्तको निष्कर्षले ओली निकै क्रुद्ध भए । ‘आवारा, हरामी, गुण्डा’ भनी सार्वजनिक रूपमा गाली–गलौज गर्दै हिँड्न थाले । पार्टीको बैठकमा उठ्दा–बस्दा, बोल्दा–खोक्दा, पाकेटमा हात हाल्दा–टाउको घुमाउँदा, फोन समाउदा समेत अध्यक्षको अनुमति चाहिने भनि विधानमै नभएका नियम लागु गर्न थाले । दाउपेच खेलेर फुत्काएको पार्टीको नेतृत्व सजिलै छोड्न सक्दैनथे । एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठन विषयक १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सातै प्रदेशबाट प्राप्त गरेको सुझावको आधारमा ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
समस्याको गाँठो फुक्ने होइन झन बल्झिने देखेपछि सुझाव गायब पारेर विधानमा व्यवस्था नगरिएको वरिष्ठ पदमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यवस्थापन गर्दै पार्टीमा दोस्रो वरियता दिइएको छ । आफू विरुद्धको स्वरलाई मत्थर पार्न र नेतृत्व छोड्नुपर्ने मुद्दालाई विषयान्तर गर्न ओलीले विद्या कार्ड फालेको कुरा बुझ्न कठिन छैन । हिजो विद्या भण्डारी फेरि एमालेमा फर्किएर नेतृत्व लिन खोजेको संकेत पाएपछि ओलीले सार्वजनिक कार्यक्रममा मदन भण्डारीले तीनवटा बिहे गरेको र सहकारी रकम खाइदिएको भन्ने हल्ला सुनेको थिएँ भन्ने आशयले विवादित मात्रै बनाएनन्, मदनको अपमान पनि गरे । मदन भण्डारी फाउन्डेसन ठगी खाने भाँडो हो भनेर निन्दा गरे । राष्ट्रपति भइसकेको मान्छेलाई पार्टीको टिकट दिन मिल्दैन भनेर खोसिदिए । तल्लो तहमा समेत अपानी पठाएर रोक्न निर्देशन दिए । विद्याको मुख हेर्न मन लागेको छैन भन्दै तिरस्कार गरे तर आज वरिष्ठ नेता बनाए । के कति कारणले हिजो रोकेको र आज विधि विधान मिचेर किन वरिष्ठ पद बनाएको भन्नेमा केही कारण खुलाइएको छैन । चर्को आलोचना चुनावमा पार्टीले खाएको धक्का र पार्टीबाट बहिर्गमन हुनपर्ने भयंकर एउटा त्रासदीले ओलीको हठ गल्दै गएको अनुमान लगाउन सकिन्छ । ओलीको अहंकार दिनप्रतिदिन स्खलन भैरहेको छ भन्दा केही अन्यथा हुन सक्दैन । पार्टी विधि–विधानले चल्ने होकि एकलौटी नेतृत्व गर्ने व्यक्तिको इच्छाबाट चल्ने हो भन्ने गम्भीर प्रश्न खडा हुन्छ । एमाले भित्र ओलीको उग्र ज्यादती सबैले बुझेका छन् । तर ओलीको अराजकतामा पार्टी सती जान हुँदैन भन्ने कुरामा नेता कार्यकर्ताले बुझ्छन् कि बुझ्दैनन् हेर्न बाँकी छ ।
-उमालाल आचार्य
प्रकाशित मितिः ११ आश्विन २०८३, आईतवार ०५:०४

उमालाल आचार्य ।