भोटेकोशी बाढीः दुई हजार बढी अझै बेपत्ता

कर्णालीका दुई सय जना सम्पर्कविहीन

सुर्खेत: रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय नाघेको छ भने अझै दुई हजार जनाभन्दा बढी बेपत्ता छन् । नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले भोटेकोशी बाढीपछिको विपत्तिमा दुई हजार तीन सय ६२ जना बेपत्ता रहेको जानकारी दिएका छन् । यो शनिवार साँझसम्मको विवरण हो ।

काफ्लेले दिएको जानकारी अनुसार एक हजार आठ सय ६३ जना नेपाली नागरिक बेपत्ता छन् । जसमा एक हजार पाँच सय ९१ जना पुरुष र दुई सय ६४ जना महिला छन् । तीन सयभन्दा बढी विदेशी नागरिक पनि बाढीमा बेपत्ता छन् ।
शनिवार राति यो समाचार तयार पार्दासम्म झण्डै सात सय जनाको शव फेला परिसकेको छ । त्यसैगरी दुई हजार तीन सय जनाभन्दा बढी घाइतेको उद्धार गरिएको छ । बाढीबाट प्रभावित एक हजार जनाभन्दा बढीलाई नुवाकोटमा रहेका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।

बेपत्ता हुनेहरूमा ठूलो संख्या जलविद्युत आयोजनामा कार्यरतहरूको छ । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत आयोजना क्षेत्रमा ठूलो मानवीय जोखिम निम्त्याएको हो । बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा फसेका तथा कार्यरतमध्ये आठ सय ९८ जना अझै सम्पर्कविहीन छन् । उद्धार टोलीले हालसम्म तीन सय ६१ जनाको उद्धार गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको विवरणअनुसार शनिवार साँझसम्म भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । ती आयोजनामा अझै पनि आठ सय ९८ जना सम्पर्कविहीन छन् । उद्धार गरिएकामध्ये ठूलो संख्या माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन् । दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाबाट मात्रै दुई सय ५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ ।

उक्त आयोजनाको सुरुङमा अझै करिब तीन सय जना फसेको अनुमान छ । उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञको टोली नेपाल आइपुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । उक्त टोलीले शनिवारदेखि नै खोज र उद्धार कार्य थालिसकेको छ ।
त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र ३७ मेगावाटको माथिल्लो त्रिशुली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ । यी आयोजनाबाट उद्धार गरिएका समेत गरी उद्धार हुनेको संख्या तीन सय ६१ पुगेको हो ।

यसैबीच भोटेकोसीको बाढीमा कर्णाली प्रदेशका झण्डै दुई सय जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन भएकामध्ये केही भने सम्पर्कमा आएका छन् । बाढीपछि परिवारको सम्पर्कमा नरहेका दुई सय ६७ मध्ये शनिवार साँझसम्म ७० जना सम्पर्कमा आएका हुन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपश्चात् एक सय ९७ जनाको अवस्था अझै अज्ञात रहेको छ । परिवार तथा आफन्तहरूको सम्पर्कमा नरहेकाहरू अधिकांश रसुवा र नुवाकोट जिल्लामा जलविद्युत आयोजनामा कार्यरत मजदुर छन् ।

प्रहरीको तथ्यांकअनुसार बाढीपश्चात् सम्पर्कविहीन हुनेहरू जुम्लाका धेरै छन् । जुम्लाबाट ८२ पुरुष हालसम्म पनि परिवारको सम्पर्कमा आएका छैनन् । यस्तै, सुर्खेतका १६ पुरुष र एक महिला गरी १७ जना परिवारको सम्पर्कमा छैनन् । जाजरकोका दुई पुरुष र एक महिला गरी तीन, सल्यानका ४१ पुरुष, ११ महिला दुई बालक र एक बालिका गरी ५५ जनाको अवस्था अज्ञात छ । यस्तै, रुकुमपश्चिमका चार पुरुष, चार महिला र एक बालक गरी नौ, हुम्लाका चार पुरुष, दुई महिला र एक बालक गरी सात, डोल्पाका एक पुरुष, एक महिला गरी दुई, मुगुका ६ पुरुष, चार महिला र एक बाल गरी ११ र कालीकोटका तीन पुरुष, दुई महिला र एक बालक गरी ६ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १४ भाद्र २०८३, आईतवार ०५:०५