थापा पुर्पक्षका लागि थुनामा
सुर्खेत: आफूलाई ‘पाथिभरा माता’ भनेर चिनाउने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।
झारफुक तथा हेराई–मनाई गर्ने बहानामा थापाले महिलामाथि दुव्र्यवहार र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सुर्खेत प्रहरीले साउन १३ गते वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय समीरलाई पक्राउ गरेको थियो । थापासहित भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा साउन ८ गते सुर्खेत अदालतमा मुद्दा दर्ता गरिएको थियो । थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्न र सहयोगीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार धामी झाँक्री वा झारफुकको नाममा कसैमाथि अमानवीय, अपमानजनक वा हिंसात्मक व्यवहार गर्नु गम्भीर कानुनी अपराध हो । अमानवीय वा अपमानजनक व्यवहार (दफा १६८) मा झाँक्री वा झारफुकको बहानामा कसैलाई अमानवीय वा अपमानजनक व्यवहार गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । साथै, पीडितलाई कसूरदारबाट मनासिक क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान छ ।
कुटपिट तथा अभद्र व्यवहार (दफा १९१ र ११८) मा झारफुकका नाममा हातपात तथा अश्लील÷अपशब्द प्रयोग गरी कुटपिट गरेमा कुटपिट तथा सार्वजनिक शान्ति विरुद्धको कसुर (अभद्र व्यवहार) अन्तर्गत थप सजाय र जरिवाना हुन सक्ने प्रावधान छ ।
प्रकाशित मितिः १० भाद्र २०८३, बुधबार १७:११
साझा बिसौनी ।