सीमान्त साहित्य सम्मेलन हुने

जुम्ला : किनारादेखि केन्द्रसम्मको बृहत् वैचारिक विमर्शका लागि जुम्लामा साहित्य सम्मेलन आयोजना गरिने भएको छ । वैचारिक बहसमार्फत कर्णालीको आवाजलाई केन्द्रसम्म पु¥याउने उद्देश्यसहित कुटीरो रिसर्च सेन्टरले ‘सीमान्त साहित्य सम्मेलन’ आयोजना गर्न लागेको हो ।
आयोजक कुटीरो रिसर्च सेन्टरका अध्यक्ष महेश नेपालीका अनुसार साहित्यलाई सिर्जनाका साथसाथै समाजको किनारामा रहेका समुदायको अनुभव, ज्ञान, संघर्ष र पहिचान अभिव्यक्त गर्ने माध्यमका रूपमा स्थापित गर्ने उद्देश्य सम्मेलनको छ । ‘सिँगो कर्णाली आज पनि विकास, अवसर, ज्ञान निर्माण र राज्यको प्राथमिकताको हिसाबले आफूलाई ‘सीमान्त भूगोल’ मै रहेको महशुस गरिरहेको छ’ नेपालीले भने, ‘सामाजिक, सांस्कृतिक, आर्थिक र बौद्धिक रूपमा किनारामा पारिएका समुदायलाई राज्यको मूल प्रवाहमा कसरी ल्याउने भन्ने प्रश्नमा पनि गम्भीर बहस आवश्यक छ, त्यसैको खोजी सम्मेलनले गर्नेछ ।’
कर्णालीलाई प्रायः गरिबी, अभाव, विकटता, पछौटेपन र समस्याको पर्याया भनेर मात्र व्याख्या गरिन्छ । तर यही भूगोलभित्र पुस्तौंदेखि विकसित भएका भाषा, लोककथा, लोकसाहित्य, संगीत, कला, हस्तकला, परम्परागत सीप, जीवनपद्धति र स्थानीय ज्ञानको विशाल संसार छ । त्यो ज्ञान र सिर्जनालाई दस्तावेजीकरण गर्ने, त्यसबारे नयाँ पुस्तालाई बहसमा जोड्ने र आधुनिक समयसँग त्यसको सम्बन्ध खोज्ने काम यो सम्मेलनमार्फत गरिने अध्यक्ष नेपालीले जनाए ।
सिमान्तकृत समुदायले विस्तार गरेको कला, साहित्य, सीप र आविष्कारसमेत लोपोन्मुख अवस्थामा छन् । त्यसलाई संरक्षण मात्रै होइन, व्यापक बनाउँदै आधुनिक समयसँग जोड्न सक्ने वैचारिक थलो बनाउने दाबी आयोजकको छ । त्यसैले सम्मेलनलाई साहित्यिक कार्यक्रम मात्रै भन्दा पनि ज्ञान, विचार, सिर्जना र समाजको सम्बन्धमाथि बहस गर्ने बौद्धिक थलोका रूपमा अघि बढाउने तयारी गरिएको छ । सीमान्त साहित्य सम्मेलनले कर्णालीका साथै देशका विभिन्न सीमान्त समुदायका अनुभव र सिर्जनालाई एउटै विमर्शमा जोड्ने लक्ष्य राखेको छ ।
‘भौगोलिक रूपमा केन्द्रबाट टाढा रहेको कर्णालीलाई अब विचार र सिर्जनाको हिसाबले पनि किनारामै राखिराख्ने कि आफ्नै आवाज र ज्ञानका आधारमा केन्द्र निर्माण गर्ने, सीमान्त साहित्य सम्मेलनले यही प्रश्नलाई बहसको टेबलमा ल्याउने तयारी गरेको छ’ नेपाली भन्छन्, ‘अन्ततः यसको सार एउटै छ, सिमान्तलाई केन्द्रको दयामा होइन, आफ्नै ज्ञान, सिर्जना र आवाजका आधारमा केन्द्रसँग संवाद गर्न सक्ने बनाउने ।’
प्रकाशित मितिः २ भाद्र २०८३, मंगलवार १६:१५
साझा बिसौनी ।