गाडीसहित सहचालक अझै अज्ञात

सुर्खेत: कर्णाली नदीमा खसेर बेपत्ता गाडीका सहचालक अझै फेला परेका छैनन् । अन्य चार जनाको शव भेटिए पनि सहचालक रामप्रसाद सुवेदीको अवस्थाको अज्ञात नै छ ।

गत असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडा दैलेखमा दुर्घटनामा परेको थियो । सडकबाट कर्णाली नदीमा खसेको गाडी फेला पर्न सकेको छैन । गाडीसँगै सहचालक सुवेदी पनि फेला परेका छैनन् ।

गाडीमा कति यात्रु थिए भन्न यकीन छैन । यद्यपि, चार जनाको पहिचान भएको छ । जसमध्ये सहचालक सुवेदीबाहेक अन्य चार जना मृत फेला परेका हुन् । कालीकोटको पचालझरना गाउँपालिका–९ का ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । उनलाई उद्धार गरे अस्पताल पु¥याउँदा मृत्यु भइसकेको थियो ।

गाडीमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँका चालक तुलाराम सुवेदी, उनका दाजु सह–चालक रामप्रसाद सुवेदी, रास्कोट नगरपालिका–२ खड्कागाउँ कालिकोटकी सिर्जना खड्का, पचालझरना–९ कालीकोटका मेखे तिरुवा र जेखे तिरुवा सवार रहेको विवरण प्रहरीले सार्वजनिक गरेको थियो । जसमध्ये रामप्रसादबाहेक अन्य सबैको शव फेला परेको हो । दुर्घटना भएको दुई साता बितिसक्दासम्म पनि नदीमा बेपत्ता गाडीको समेत अत्तोपत्तो छैन ।

घटनालगत्तै तीन वटै सुरक्षा निकायसहितको टोलीले खोजी गरेको थियो । गोताखोर परिचालन गरेको खोजिएको थियो । त्यति मात्र होइन हवाई निगरानीका लागि ड्रोन क्यामेरा, धमिलो पानीमुनिका वस्तुको आकृति हेर्न सोनार क्यामेरा, ढुङ्गाका साँघुरा चेपभित्र नियाल्न बोरस्कोप क्यामेरा र पानीमुनि गाडीको फलाम तान्न रिभर भेहिकल म्याग्नेटसमेत प्रयोग गरिए पनि पत्ता लाग्न सकेन ।

वर्षातका कारण कर्णाली नदीमा पानीको बहाव बढेको छ । पानी धमिलो छ । जसले खोजी कार्य कठिन बनेको हो । दुई सातासम्म खोजी गर्दा पनि कुनै पत्ता नलागेपछि अहिले खोजी रोकिएको छ । गाडीसहित सहचालकको अवस्था भने अज्ञात नै छ ।

प्रकाशित मितिः   ४ श्रावण २०८३, सोमबार १६:३९