फलफूल खेती प्रवर्द्धन

फलफूल खेतीका लागि पर्याप्त सम्भावना बोकेको प्रदेश हो, कर्णाली । कर्णालीका हिमाली जिल्ला स्याउ उत्पादनका लागि पख्र्यात छन् । विशेष गरेर डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालीकोटमा स्याउ उत्पादन हुने गर्दछ । तर त्यसको पर्याप्त बजारीकरण हुन सकेको छैन । जसमा अनेक समस्या छन् । स्याउ उत्पादन हुने जिल्लाहरूमा बर्सेनि सडक अवरुद्ध र ढुवानी समस्या कारण किसानको उत्पादन क्षति हुँदै आएको भन्दै त्यसको समाधानका लागि बोर्ड आवश्यक देखिएको छ । स्याउ उत्पादन हुने क्षेत्रमा स्थलगत अध्ययनसमेत भइसकेको छ । नयाँ बोर्ड गठनपछि उत्पादन, भण्डारण, बजारीकरण र मूल्य सुनिश्चिततामा सुधार आउने अपेक्षा गरिएको छ । सबैको सुझाव र रायका आधारमा बोर्ड गठन गरिने जनाइएको छ ।

प्रदेश सरकारले फलफूल खेती प्रवद्र्धन गर्न क्षेत्र विस्तार गर्न लागेको छ । गुणस्तरीय फलफूल उत्पादन र बजारीकरणका लागि क्षेत्र विस्तार गर्न लागिएको हो । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले फलफूल क्षेत्र विस्तार कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रम र बजेटमा समेटेर उक्त योजना अघि सारिएको हो । यो कार्यक्रम नौलो भने होइन । आगामी वर्षमा दशवटै जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत् कार्यक्रम कार्यान्वयन गरिने छ । कार्यक्रम कार्यान्वयनका लागि आगामी वर्षमा १९ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । यो फलफूल क्षेत्रमा छुट्टयाइएको अहिलेसम्मकै धेरै बजेट हो । यसअघि प्रदेश सरकारले झिनो बजेट विनियोजन गर्ने गरेको थियो । जसले गर्दा कार्यक्रम प्रभावकारी भएको थिएन । यो वर्ष प्राविधिक अध्ययन गरेर फलफूल खेतिलाई प्रवद्र्धन गर्न लागिएको छ ।

साविक कर्णालीका पाँच जिल्लामा स्याउ–ओखर विकास आयोजना सञ्चालन भइरहेको छ । दैलेख र रूकुमपश्चिमलाई पनि ओखर उत्पादनका लागि क्षेत्र विस्तार गर्न लागिएको छ । अन्य जिल्लाहरूमा हुने फलफूलको अध्ययन गरेर कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । पछिल्ला वर्षहरूमा किसानहरू अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । बाँझो जमिनलाई उपयोग, कृषकले उत्पादन गर्ने फलफूल खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रमबाट कृषकले प्रत्यक्ष लाभ लिनेछन् । कर्णालीका सबै जिल्लामा फलफूल खेती प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । सम्भाव्यता अध्ययनको आधारमा परियोजनाका लागि पालिकाहरू छनोट गरिनेछन् । प्राविधिकले उक्त स्थान फलफूल उत्पादनका लागि उपयुक्त भए–नभएको अध्ययन गर्नेछन् । सोही अध्ययनका आधारमा पालिका छनोट गरिने छ ।

प्रकाशित मितिः   २४ असार २०८३, बुधबार ०५:०३