दैलेख गाडी दुर्घटनाः उर्लदो कर्णाली, खोजीमा कठिनाइ
सुर्खेत: लगातारको वर्षाले पानीको वहाब बढेपछि कर्णाली नदीमा खसेको यात्रुसहितको गाडीको खोजीमा थप कठिनाइ भएको छ । गत बिहीवार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक (हाइस) गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो ।
सडकबाट झन्डै चार सय मिटर तलको कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुहरू चार दिन बितिसक्दा पनि भेटिएका छैनन् । बिहीवारदेखि नै खोजी कार्य तीव्र पारिए पनि आइतवारसम्म कुनै पत्ता नलागेको खोजीमा खटिएका सुरक्षा निकायले जनाएका छन् । गाडी र त्यससँगै बेपत्ता भएका यात्रु खोज्न तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले लगातार चार दिनदेखि कर्णाली नदीमा खोजी गरिरहेको छ । खोजीका लागि गोताखोरदेखि ड्रोन र हेलिकप्टरसमेत प्रयोग गरिएको छ ।
दैलेखको कालीदत्त गुल्मका मेजर सवलजंग शाहका अनुसार अहिलेसम्म नेपाली सेनाबाट मात्रै ४५ जनाको टोली खटिएको छ । एउटा टोलीले उत्तर र अर्को टोलीले दक्षिणबाट मोटरबोट प्रयोग गरी खोजीकार्य जारी राखेका छन् । खोजीका लागि शनिवार हेलिकप्टर र ड्रोनसमेत परिचालन गरिएको थियो । आइतवार सेनाले गोताखोरसहितको आफ्नै टोलीसमेत परिचालन गरेको छ । तालिमप्राप्त सैनिकहरू खोजीमा लगाइएको मेजर शाहले जानकारी दिए । सुर्खेतस्थित पृतनाबाट विषेश टोलीसहित खोजीमा खटिने सैनिकको संख्या ६० बढी पुग्ने मेजर शाहले बताए ।
त्यसैगरी सशस्त्र प्रहरीको टोलीले पनि लगातार खोजी कार्य गरिरहेको छ । सशस्त्रको गोताखोरसहितको टोली पनि बिहीवारदेखि नै घटनास्थलमा खटिएको छ । सुर्खेतबाट पुगेको गोताखोरको ६ जनाको विषेश टोलीले निरन्तर खोजी गरिरहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विषेशज्ञको अर्को टोली पनि खोजी कार्यमा खटिएको छ । उक्त टोलीले शनिवार दिउँसोदेखि पानीभित्र खोजीका लागि प्रयोग हुने सोनार क्यामेरा, रिभर भेहिकल म्याग्नेट, बोरस्कोप क्यामेरा, ड्रोनलगायतका उपकरण पनि प्रयोग गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी सयभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खोजी कार्यमा खटिइरहेका छन् ।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माका अनुसार वर्षाका कारण कर्णालीको वहाब बढेको र पानी धमिलो हुँदा खोजी कार्यमा कठिनाइ भएको छ । वर्षा भइरहेका कारण कर्णालीमा पानीको वहाब घटेको छैन, थप बढेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले नदीमा अत्यधिक वहाब र धमिलो पानीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको बताए । उनका अनुसार हालसम्म दुर्घटनास्थलदेखि सम्भावित क्षेत्रमा नियमित खोजी भइरहे पनि गाडी फेला परेको छैन ।
अहिलेसम्म कर्णालीमा गाडीसँगै खसेर बेपत्ता भएका चार जनाको पहिचान भने भएको छ । त्यसबाहेक गाडीबाट उछिट्टिएर भीरमा अड्किएको अवस्थामा एक जना मृत भेटिएका थिए । गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका तुलाराम सुवेदी, सहचालक समेत रहेका उनका सहोदर दाइ रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका– २ खड्का गाउँकी सिर्जना खड्का र कालीकोट पचालझरना गाउँपालिका– ९ का मेखे तिरुवा बेपत्ता छन् । भीरमा मृत भेटिएका व्यक्ति कालीकोटका पचालझरना गाउँपालिका–९ का ४५ वर्षीय जेखे तिरूवा हुन् । उनको शप पोस्टमर्टमपछि परिवारले बुझिसकेको छ ।
एक मृतक र चार जना बेपत्ताको पहिचान भएपनि गाडीमा कतिजना यात्रु थिए भन्ने नै यकिन भएको छैन । यातायात कम्पनीको अभिलेखमा पाँच जनाले मात्र टिकट काटेको देखिन्छ । तर बीच बाटोबाट पनि यात्रु चढेको हुन सक्ने अनुमान सुरक्षाकर्मीले गरेका छन् । तर बाटोका प्रहरी चौकीमा समेत गाडीको इन्ट्री रेकर्ड भेटिएको छैन । ‘अहिलेसम्म गाडी फेला परेको छैन । कति जना सवार थिए भन्ने पनि यकिन हुन सकेको छैन,’ प्रदेश प्रहरी प्रमुख सापकोटाले भने, ‘सबै सुरक्षा निकायका प्रमुखहरू टोलीसहित कर्णाली नदीका विभिन्न स्थानमा खोजी कार्यमा खटिएका छौँ ।’
प्रकाशित मितिः २२ असार २०८३, सोमबार ०५:०५

साझा बिसौनी ।